हवाई दुर्घटना बढ्नुको मुख्य कारण नियामकीय असक्षमता होः सोविता गौतम
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद् सोविता गौतमले हवाई दुर्घटना बढ्नुमा नियामकीय असक्षमता रहेको बताएकी छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले संसारकै सुरक्षित मानिने हवाई सेवा नेपालमा सबैभन्दा असुरक्षित भएको बताइन् । “उडान सुरक्षाको अवस्था निरन्तर ओरालो लागेको छ । यो नियामकीय असक्षमता र टोटल रोगुलेटरी फेलियर हो,” उनले भनिन् ।
उनले यात्रु राज्यले सुरक्षा दिन्छ भन्दै हवाई यात्रा गर्ने गरेको बताइन् । “चालक वा एयरलाइन्सलाई दोषी देखाएर राज्य उन्मुक्ति पाउन सक्दैन,” उनले भनिन् । उनले नियामक निकाय नागरिक उड्ययन प्राधिकरण ठूलाठूला प्रोजेक्ट बनाउन, टर्मिनल बनाउन, विमानस्थल व्यवसाय गर्नमा केन्द्रित रहेको आरोप लगाइन् । नेपालमा पृथक र विशिष्टीकृत नियामक निकाय चाहिएको बताइन् । आफ्नो सेवाप्रदाय र नियामिक निकाय छुट्टाछुट्टै हुनुपर्ने माग राख्दै आएको बताइन् ।