‘पे आफ्टर भिसा’ को नाममा धन्दा चलाउँदै क्यानडाकाे साइप्रेस कलेज

सोमबार, १ साउन २०८०

काठमाडौं – गोरखाका दीपक गुरुङ (नाम परिवर्तन) को जेठ ८ गते क्यानडाको साईप्रेस कलेजले शर्तसहितको अफर लेटर पठायो । जसलाई कण्डिस्नल अफर लेटर भनिदो रहेछ । यो आफ्टर लेटरले लेटर अफ एक्प्लानेशन (एलओआई) मगाउनका लागि आवश्यक कागजात, अध्ययन गर्दा लाग्ने शुल्क लगायतका विषयमा जानकारी दिइएको हुन्छ । उक्त अफर लेटर आएकै दिन काठमाडौं बागबजारमा अवस्थित एक शैक्षिक कन्सल्टेन्सीले विद्यार्थीलाई पैसा जम्मा गर्न भन्दै आफ्नो व्यक्तिगत खाता नम्बर पठायो ।

गोरखाका सोझा गुरुङले होला त नी भनेर घरमा आमालाई सम्पर्क  गरेर पैसा डिपोजिट गर्न लगाए । छोरा क्यानडा जाने भयो भनेर मख्ख परेकी आमाले १६ लाख ५० हजारको चेक कुमारी बैंकको खातामा जम्मा गरिदिइन् । पैसा जम्मा भएपछि आज भिसा आउला नाई, भोली आउला नाई, पर्सी आउला नाई । भिसाको प्रतिक्षा गर्दै जाँदा गुरुङको एक महिना १५ दिन बित्यो । मेरो भिसा किन नआएको भन्दै गुरुङ शैक्षिक कन्सल्टेन्सीको कार्यालयमा पुगे त्यहाँ पुगेपछि उनी छाँगाबाट खसेजस्तै भए ।

उनलाई कन्सल्टेन्सीले मुर्गा (कोही ठगिदा प्रयोग गरिने शब्द) बनाएको रहेछ । उनको कण्डिस्नल अफर लेटरलाई ‘एलओआई’ भनेर विद्यार्थीलाई फकाउँदै कन्सल्टेन्सीले आफ्नो खातामा पैसा जम्मा गर्न लगाएको रहेछ । एलओआई आएपछि मात्र विद्यार्थीको भिसा एप्लाई गर्न पाइन्छ । कन्सल्टेन्सीले अझसम्म पनि एलओआई निकाल्न सकेको छैन । भिसा एप्लाई गरिसकेको भनेर भिसाको प्रतिक्षामा बसेका गुरुङ कन्सल्टेन्सीले भिसा एप्लाई नै गरेको छैन भनेपछि आफू ठगिएको महशुस गरे । त्यसपछि उनले मोटिभेट न्यूज डटकमलाई सम्पर्क गरे ।

मोटिभेट न्यूजले कन्सल्टेन्सी व्यवसायीसँग सम्पर्क गरेपछि उक्त पैसा विद्यार्थीको खातामै फिर्ता भएको छ । ‘यो भन्दा अघि मैले ७ जना विद्यार्थीको भिसा लगाएको थिएँ । उनीहरुले कलेजमा पैसा जम्मा नगरी क्यानडा पुगे ।’, आफ्नो खातामा पैसा मगाउनुको   कारणबारे बताउँदै ति व्यवसायीले भने, ‘धन्न उनीहरुको ट्युसन फि बराबरको रकम मैले कमिसन पाउन होल्ड भएको थियो र मेरो एजेन्सी बच्यो । नत्र मेरो हालत के हुन्थ्यो । पे आफ्टर भिसामा धेरै समस्या छ ।’

साइप्रस कजेजमा भिसा लागेपछि मात्र ट्युसन फि जम्मा गरे पुग्छ । विद्यार्थीले कन्सल्टेन्सीलाई पैसा बुझाउन पर्दैन । पासपोर्टमा छाप लागिसकेको एक हप्ताभित्र बैंकिङ च्यानलमार्फ रकम जम्मा गर्नुपर्ने हुन्छ । तर यो कन्सल्टेन्सीले भिसा लाग्नु भन्दा पहिला नै पैसा मगाएर विद्यार्थीलाई ठगेको थियो ।

कलेजको कमजोरी

साइप्रस कलेज क्यानडाको सास्काचेवान प्रान्तमा अवस्थित छ । यो कलेजमा अध्ययनका लागि जान चाहाने विद्यार्थीले ५५० क्यानडियन डलर खर्च गरेर भिसा आवेदन दिए पुग्छ । भिसा लाग्नुभन्दा अगाडि अरु केही पनि खर्च गर्नुपर्दैन । क्यानडियन दूतावासले पासपोर्टमा छाप लगाइसकेपछि कलेजमा लाग्ने ट्युसन फि तिरेर क्यानडाको उडान भनुपर्ने हुन्छ । झट्ट हेर्दा यो विद्यार्थीका लागि सजिलो जस्तो देखिएको छ । तर यसले विद्यार्थीको भविश्य अन्धकार बनाइरहेको छ ।

नेपालबाट विश्वका जुनसुकै देशमा अध्ययनका लागि पैसा पठाउँदा वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) अनिवार्य चाहिन्छ । तर यो कलेजमा भर्ना भएका विद्यार्थीले एनओसी लिएर पैसा पठाउन आवश्यक छैन । कन्सल्टेन्सीले कलेजका प्रतिनिधिहरुसँग मिलेर क्यानडाबाट आउने कमिसनबापतको रकम उतै राखेर यता विद्यार्थीको पैसा लिन्छन् र कमिसन कटाउँछन् । उता कजेजले कमिसन दिदैन र ट्युसन फिबापतको रकम कटाउँछ । यसले क्यानडामा पढेको विद्यार्थीले नेपालमा समकक्षताको प्रमाणपत्र लिनुपर्यो भने समस्या आउँछ । उसले अध्ययनमा लगाएको समय र पैसा दुबै वर्ताद हुन्छ ।

‘कलेजले भिसा आवेदनको प्रयोजनका लागि विद्यार्थीले ट्युसन फि जम्मा गरिसकेको भनेर नक्कली भौचर पठाउँछ । ।’, मोटिभेट न्यूज डटकमको सम्पर्कमा आएका एक शैक्षिक परामर्श व्यवसायीले भने, ‘त्यो नक्कली भौचर अपलोड गरेपछि भिसा आइहाल्छ । विद्यार्थीले पैसा पठाएको नेपालको कुनै पनि सम्यन्त्रमा देखिदैन । यता विद्यार्थीबाट कन्सल्टेन्सीले लिइसकेको हुन्छ । उता होल्ड भएको कमिसन ट्युसन फिमा कटाउँछ ।’

सरकारलाई तिर्नुपर्ने ३ प्रतिशत शिक्षा सेवा शुल्क तिर्नु नपर्ने भएकाले पनि विद्यार्थीले यस्ता कलेजहरु रोज्ने गरेका छन् । ‘नेपालबाट भिसा लागिसकेपछि पैसा तिर्नुपर्ने हुँदा विद्यार्थीलाई पैसाको तनाव हुँदैन ।’, एक अर्का व्यवसायीले भने, ‘विद्यार्थीले भिसा लागेपछि पैसा खोजे हुन्छ । क्यानडाको भिसा लाग्यो भनेपछि जसले पनि पैसा दिन्छ । अर्को कुरा तीन प्रतिशत शिक्षा सेवा शुल्क बुझाउनु परेन । हुण्डिबाट कारोबार हुनेहुँदा विद्यार्थीलनई एनओसीको झन्झट पनि भएन् । भिसा आएपछि अन्तिम अन्तिममा एनओसी लिन गए हुन्छ ।’

अध्ययन पछिको भविश्य अन्धकार

साइप्रस कलेज निजी क्षेत्रबाट संचालित शैक्षिक संस्था हो । क्यानडामा प्रायजसो पब्लिक कलेजहरुको संस्था धेरै छ । भारत लगायतका देशबाट क्यानडा गएकाहरुले आफ्नै लगानीमा कलेजहरु खोलेका छन् जुन कलेजहरु निकै नै बदनाम छन् । यस्ता कलेजहरु जतिबेला पनि बन्द हुनसक्छन् । पब्लिक कलेजहरुको बाहुल्यता भएको क्यानडामा निजी कलेजहरुमा विद्यार्थीले अध्ययन गरिसकेपछि पाउने पोस्ट स्टडी वर्क (पीएसडब्लु)को सुविधा हुँदैन । आफूले अध्ययन गरेको विषयमा काम गर्ने अवसर नपाउँदा विद्यार्थीको अध्ययन खेर जान्छ । र भविश्य अन्धकार बन्छ ।

‘एउटा विद्यार्थीले दुई बर्ष लगाएर पुरै पढ्यो । त्यसपछि उसले काम गर्ने अधिकार पाएन भने उसको पढाइएको के अर्थ ?’, मोटिभेट न्यूजडटकमसँग एक अर्का व्यवसायीले भने, ‘त्यो विद्यार्थी नेपाल फर्किनु बाहेक अर्को विकल्प हुँदैन । गैरकानूनी रुपमा भागेर बस्नुपर्छ। त्यही भएर साइप्रस लगायतका कलेजहरुमा अध्ययनका लागि जानु भनेको भविश्य अन्धकार हुनु नै हो । जे पर्ला–पर्ला भन्ने हो भने ठिक छ, होइन अध्ययन गर्छु, करिअर बनाउँछु भन्नेका लागि यो निजी कलेजहरु उपयुक्त छैनन् ।’

‘सरकारी कलेज (पब्लिक)मा जति बर्ष पढ्यो त्यति नै बर्षको पिएसडब्लु हुन्छ । तर निजीमा त्यो सुविधा हुँदैन ।’, उनले भने, ‘त्यही भएर धेरै विद्यार्थीहरु पब्लिक कजेजमा भर्ना हुन जान्छन् । पब्लिक कलेजमा भर्ना भएपछि पढाई सकिदा करिअर सुरक्षित भइहाल्छ ।’

के भन्छ कलेज ?

साइप्रस कलेज भारतीय मुलका क्यानडियन नागरिकको लगानीमा संचालित छ । नेपालमा अबैध रुपमा मार्केटिङ गरिरहेकी एक कर्मचारीले आफूहरुको कलेज कानून अनुसार चलेको बताइन् । ‘हाम्रो कलेजले विद्यार्थीको सुविधाका लागि ‘पे अफ्टर भिसा’को प्रावधान ल्याएको हो । विद्यार्थीको भिसा लागेन भने रिफण्डमा विद्यार्थीलाई तनाव हुँदैन ।’, मोटिभेट न्यूजडटकमसँगको टेलिफोन संबादमा उनले भनिन्, ‘कसैले पनि एजेन्सीलाई पैसा बुझाउनु पर्दैन । हाम्रो कलेज निजी भएपनि धेरै विद्यार्थीको विश्वास जितेको छ ।’

‘हामी विद्यार्थीसँग डाइरेक्ट कुरा गर्दैनौं । एजेन्सीहरुले आफै डिल गर्नुहुन्छ ।’, मोटिभेट न्यूजडटकमले विद्यार्थी पैसा उठाएर होल्ड गरेको विषयमा सोधिएको प्रश्नमा उनले भनिन्, ‘एजेन्सीलाई क्यास बुझाउने विद्यार्थी कस्ता हुन् ? उनीहरु क्यानडा गएर के गर्छन् ? कोही पनि विद्यार्थीले क्यास बुझाउनु पर्दैन । बैंकिङ च्यानलबाट ट्युसन फि पठाउने हो ।’ उनले आफूहरुसँग पब्लिक कलेजहरु पनि भएको भन्दै आफूसँग भएका सबै कलेजहरुले ‘पे अफ्टर भिसा’ लागु गरेको बताइन् ।