सबै कम्युनिष्ट क्रान्तिकारी शक्तिहरू‌लाई एकताबद्ध बनाउन समाजवादी मोर्चा बनेको होः प्रकाण्ड सी

मंगलबार, २ साउन २०८०

काठमाडौं— नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले सबै कम्युनिष्ट क्रान्तिकारी शक्तिहरुलाई एकताबद्ध बनाई समाजवाद तिर जान समाजवादी मोर्चा बनेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा मंगलबार जनपत्र‌कार संग‌को अनौपचारिक कुराकानीका क्रममा प्रवक्ता प्रकाण्ड सीले समाजवादमा जान २००६ साल देखीका सबै क्रान्तिकारी कम्युनिष्टहरू एकतावद्ध हुनुपर्ने बताएका हुन ।

प्रवक्ता प्रकाण्डले नेपालमा दलाल पुँजीवादले देश संकटमा परेको दाबी गर्दै दलाल पुँजीवादी व्यवस्था परिवर्तनका लागि एकमात्र उद्देश्य राखि समाजवादी मोर्चा बनेको बताए । अहिले समाजवादी मोर्चा गठनले कम्युनिष्ट, क्रान्तिकारी, शक्ति, प्रगतिशील, बामपन्थी, देशभक्त शक्ति बिच सकारात्मक प्रभाव परेको बताउदै उनले नेपाली जनताको प्रमुख दुश्मन दलाल पुँजीवाद भएको बताए ।

उन‌ले माओवादी केन्द्र, एकिकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा सहभागी समाजवादी मोर्चा मात्र नभई सबै नेपालका कम्युनिष्ट क्रान्तिकारी, प्रगतिशील शक्तिहरुलाई समेत सहभागी गराउने उद्देश्यले मोर्चा गठन भएको बताए ।

उनले भने ‘यो मोचोलाई साँधुरो घेराबाट‌ हेर्नु हुदैन, यसको उद्देश्य सबै समाजवाद चाहने शक्तिलाई समेट्‌ने छ । यसमा एमाले, तथा काङ्ग्रेस भित्रका प्रगतीशील समाजवादी पनि आउन सक्छन ।’ प्रवक्ता प्रकाण्डले नेपालमा अब संसदीय व्यवस्थाको ठाउँमा नेपाली विशेषताको समाजवादी गणतन्त्र स्थापना अनिवार्य भएको पनि जिकीर गरे ।