आफ्नै सक्रियताका कारण विमानस्थलबाट तस्करीको सुन बरामद गर्न सफल भएको अर्थमन्त्रीको दाबी
काठमाडौं— अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्नै सक्रियताका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीको सुन बरामद गर्न सफल भएको दाबी गरेका छन् ।
बुटवल पुगेका अर्थमन्त्री महतले आफूले तस्करीको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेपछि १ सय किलो सुन बरामद भएको दाबी गरेका हुन् ।
रेडी ट्रेडर्सका नाममा हङ्कङबाट आयात भएको दुईपाङ्ग्रे सवारीको पार्टस् (ब्रेक सु) भित्र लुकाएर ल्याइएको सुन त्रिभुवन विमानस्थल बाहिर बरामद भएको थियो । उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणाली र भन्सार छलेर कसरी बाहिर आइपुग्यो भन्नेबारे पनि राजस्व अनुसन्धान विभागले अध्ययन गरिरहेको छ ।
यस्तै एक फरक प्रशंगमा अर्थमन्त्री महतले नयाँ मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान गराउने बताएका छन्। नयाँ मौद्रिक नीतिले व्याजदरमा केही कम गराएकाले अब निजी क्षेत्रमा लगानी बढेर जाने र अर्थतन्त्र चलायमान हुने उनले बताए ।
‘हिजो मात्रै नयाँ मौद्रिक नीति सार्वजनिक भएको छ । मौद्रिक नीतिले व्याजदर कम भएपछि लगानी बढ्छ । यसले गर्दा सुस्ताएको अर्थतन्त्र अब चलायमान हुन्छ,’ अर्थमन्त्री महतले भने ‘मौद्रिक नीतिले पोलिसी रेट ६।५ प्रतिशत तोकेको छ,यसले बैंक ब्याज दर स्वतः खुकुलो हुन्छ र बजारमा पुंजी प्रवाह बढ्छ,जग्गा कारोबार पनि सहज हुन्छ’ उनले भने ।