नेपाल दक्षिण एसियाका एक अर्ब भन्दा बढी जनसंख्याको पानीको स्रोत होः अर्थमन्त्री

आइतबार, १० भाद्र २०८०

काठमाडौं— अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालले दक्षिण एसियाका एक अर्ब भन्दा बढी जनसंख्याको पानीको स्रोत नेपाल रहेको बताएका छन् ।

विश्व वातावरण कोषको सातौं एसेम्बली बैठकमा बोल्दै उनले ४५ प्रतिशत वन क्षेत्र संरक्षण गरेर नेपालले मानव समुदायको स्वास प्रश्वासका लागि अक्सिजन प्रवाह गरिरहेको पनि बताए ।

उनले नेपालले जैविक विविधता तथा वातावरण संरक्षणमा इमान्दार प्रयास गरिरहेको बताउँदै दुर्लभ तथा संकटापन्न जंगली जनावरको संरक्षण गरेको पनि बताए । त्यसको नतिजा स्वरुप नेपालमा बाघ र एकसिंगे गैडाको संख्या उल्लेख्य रुपमा बढेको पनि मन्त्री महतले दाबी गरे ।

प्रयासका बाबजुद नेपाल जलवायु परिवर्तनका दृष्टिकोणले नेपाल विश्वको १० औं उच्च जोखिमयुक्त मुलुकमा परेको र पछिल्ला दिनहरुमा बाढी पहिरो अतिवृष्टि, सुख्खा साथै हिमताल बिस्फोटको जोखिम समेत बढेको उनले बताए ।

नेपालको तापक्रम सन् २०३० सम्ममा ०.५ देखि २.० डिग्री सेल्सियसले बढ्ने अनुमान रहेको र यसबाट हुने असर र प्रभावसँग सामना गर्न सन् २०५० सम्ममा करिब ५० अर्ब अमेरिकी डलर भन्दा बढी लगानी आवश्यक रहेको डा. महतले बताए ।

मन्त्री डा. महतले वातावरणीय कोषका कार्यक्रमहरू राष्ट्रिय प्रणाली मार्फत कार्यान्वयन गर्नुपर्ने बताउँदै जलवायु परिवर्तनको बहुआयामिक असरलाई सम्बोधन गर्न उच्चस्तरको सहकार्य र सबैको योगदान आवश्यक रहेको धारणा राखे ।

यसैगरी नेपालले जैविक विविधता तथा वातावरण संरक्षणको क्षेत्रमा गरेको प्रयासलाई प्रोत्साहन गर्ने गरी ठोस कार्यक्रम मार्फत हरित पूर्वाधार निर्माण तथा स्थानीय जनताको आयआर्जन र जीवनस्तर सुधारमा वातावरणीय कोषका कार्यक्रमहरू केन्द्रित गर्नुपर्ने पनि मन्त्री महतले बताए ।