राष्ट्रघाती एमसीसीको कार्यान्वयन विरुद्ध नेकपाको बृहत अन्तरक्रिया कार्यक्रम सुरु

सोमबार, ११ भाद्र २०८०

काठमाडौं— नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा राष्ट्रघाती एमसीसी विरुद्ध वृहत अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सुरु भएको छ । काठमाडौंको राष्ट्रिय नाचघर जमलमा एमसीसी कार्यान्वयन विरुद्धको वृहत अन्तरक्रिया कार्यक्रम सुरु भएको हो ।

कार्यक्रमको संचालन नेकपा प्रवक्ता प्रकाण्ड सीले संचालन गरिरहेका छन । उनले संचालनका क्रममा एमसीसी विरुद्ध देशभक्त शक्तिहरु एक भएर नयाँ क्रान्तिको मोर्चा खोल्नु पर्ने बेला आएको बताएका छन । उनले सरकार र एमसीसी पक्षधर बीच र आगामी १३ गते सम्म एमसीसी सम्झौता कार्यान्वय गरी सक्नुपर्ने सम्झौता भएकाले त्यसलाई सबै राष्ट्रवादी, क्रान्तिकारी शक्तिहरुले ध्वस्त पार्नुपर्ने बताए ।

कार्यक्रममा एमसीसी विरुद्ध रचिएको क्रान्तिकारी गीत नेकपाका पोलिट व्यूरो सदस्य चिरन पुनले गाएर सुनाएका छन । कार्यक्रम निरन्तर अगाडि बढिरहेको छ । अन्तरक्रिया कार्यक्रम भर्खर सुरु भएको छ । कार्यक्रममा सहभागी हुने नेता तथा कार्यकर्ताहरुको भिड बाक्लो छ ।

अन्तरक्रिया कार्याक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी, नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानीत नेता झलनाथ खनाल, जनमोर्चा नेपालका अध्यक्ष चित्र वहादुर केसी, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेकपा एमालेका नेता डा. भिम रावल, पूर्व न्याधिवक्ता युवराज संग्रौला, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र वास्तोला, पूर्व जनरल नेपाली सेनाका प्रेमसिंह वस्नेत र वरिष्ठ वुद्धिजीवी डा।सुरेन्द्र भण्डारी लगायतका व्यक्तित्वहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

नेपालमा अमेरिकी साम्राज्यवादको हस्तक्षेपमा राष्ट्रघाती तथा जनघाती एमसीसी सम्झौता नेपालमा कार्यान्वयनको लागि जबर्जस्त अगाडि बढेकाले त्यस विरुद्ध सम्पूर्ण राष्ट्रवादी शक्तिहरु एकै मञ्चमा उभिएर प्रतिवाद गर्नुपर्ने अवस्था आएकाले कार्यक्रमको आयोजना गरिएको नेकपाले जनाएको छ ।