लर्डबुद्ध एजुकेशन फाउन्डेसनले मनायो रजत जयन्ती

मंगलबार, २६ भाद्र २०८०

काठमाडौं— सूचना प्रविधि क्षेत्रको पहिलो कलेज लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले रजत जयन्ती मनाएको छ । सूचना प्रविधिको क्षेत्र अध्यापन गराउँदै आएको फाउन्डेशनबाट २५ वर्षको अवधी १२ हजार भन्दा बढी विद्यार्थीलाई दिक्षीत भएका छन ।

रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा फाउन्डेशनमा स्थापना कालदेखि संलग्न रहँदै आएका विभिन्न ९ जनालाई उपराष्ट्रपति रामशहाय प्रसाद यादवले सम्मान गरे । रजत जयन्तीका अवसरमा उपराष्ट्रपति यादवले सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै फाउन्डेसनको प्रसंशा गरे। उनले भने, ‘मुलुक डिजिटल युगमा प्रवेश गरीसकेको छ र हाम्रो भविश्य सूचना प्रविधिको विकाससंग जोडिएको छ । पछिल्लो २ दशकमा सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य प्रगती हासिल पनि भएका छन । नेपालको पहिलो आईटी कलेज भएकाले पनि सूचना प्रविधिको विकासमा निजी क्षेत्रको तर्फबाट लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले खेलेको भूमिका अतुलनीय छ । ’

समावेशी र सिपमूलक शिक्षा मार्फत स्वदेशमै युवालाई आर्कषित गर्न आवश्यक रहेकोमा उपराष्ट्रपति यादवले जोड दिए। पछिल्लो समय युवाहरु विदेशी क्रम तिव्र भएका प्रति आफु निकै चिन्तित भएको यादवको भनाई छ । स्वदेशमा भविश्य नदेखेर पलायन हुनुपर्ने वाध्यतालाई अन्त्य गरिनुपर्नेमा उनले जोड दिए ।

शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले शिक्षा मार्फत महिला सशक्तीकरणमा पनि महत्वपुर्ण योगदान गरेको बताए । शिक्षा प्रणालीलाई मुलुकमा सवैको समान पहुँचमा पु¥याउनुपर्नेमा उनले जोड दिए । फाउन्डेशनका अध्यक्ष पंकज जालानले पढ्दै पढाउँदै भन्ने सरकारको नीतिलाई व्यवहारिक कार्यन्वयन गर्न सफल भएको बताए । नेपालमा दक्ष जनशक्ती उत्पादन गरेर युवाहरुलाई विदेशिनबाट रोक्ने आफ्नो उद्देश्य रहेको उनको भनाई छ ।

रजत जयन्तीका अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले शुभकामना दिएका थिए । फाउन्डेशनको रजत जयन्तीका अवसरमा मलेसियाको एसिया प्यासिफक विश्वविद्यालयका प्रमुख दतुक परमजीत सिंहले पनि सफलताको शुभकामना दिए । उनले लर्डबुद्ध एजुकेशन फाउन्डेशनसंग आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिवद्धता जनाए।