अर्थमन्त्री महतले भने, निजी क्षेत्रको मनोबल बढाउन बैंकहरूले ब्याजदर घटाउनु पर्छ

बिहिबार, ४ असोज २०८०

काठमाडौँ – अर्थमन्त्री डा:प्रकाशशरण महतले अर्थतन्त्र चलायमान बनाउन र निजी क्षेत्रको मनोबल बढाउन बैंकहरुले ब्याजदर घटाउनेतर्फ उन्मुख हुन आग्रह गरेका छन्।

बिहीवार निक्षेप तथा कर्जा सुरक्षण कोषको स्वर्ण महोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री डा: महतले यस्तो आग्रह गरेका हुन्। उनले सरकारले अर्थतन्त्र चलायमान बनाउन र बैंकको ब्याजदर घट्ने उद्देश्यले स्थानीय तहको सञ्चित कोषको रकम बैंकले निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेको बताए।

उनले भने, ‘आर्थिक गतिविधिमा भविष्यमा आउन सक्ने जोखिमलाई जति न्युन गर्न सकियो। उति निर्धक पूर्वक आर्थिक कारोबार बढ्छ। त्यस्तो लगानी गर्दा साना लगानीकर्ता, निक्षेपकर्ताहरुले बैंक तथा वित्तीय संस्थाहरुमा सुरक्षा हेर्छन्। त्यो जोखिम जति कम गर्न सक्यो त्यति साना बचत कर्ताहरुबाट पुँजी प्रवाह हुन्छ। त्यसले मुलुकको अर्थतन्त्र माथि लैजान्छ।’

अर्थमन्त्री महतले बैंकहरुले उल्टो ब्याजदर बढाउने काम गरेको भन्दै असन्तुष्ट जनाए। उनले अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रले सकारात्मक सन्देश प्रवाह र बैंकहरुले निजी क्षेत्रलाई सहुलियत दिन आवश्यक रहेको उल्लेख गरे। उनले पछिल्लो समय बैंकहरुलाई लगानी नगर् भनेर नकारात्मक साइकलको अन्त्य गर्नु जरुरी देखिएको बताए।

उनले अर्थतन्त्र चलायमान हुँदा अर्थतन्त्र बढ्ने र आर्थिक गतिविधि बढ्दा रोजगारी पनि वृद्धि हुने भन्दै अर्थतन्त्रको नकारात्मक चक्रलाई सुचक्रमा बदल्न जरुरी रहेको बताए। उनले निजी क्षेत्रले अर्थतन्त्रप्रति नकारात्मक देखिए निजी क्षेत्रलाई नै पछि समस्या पर्ने बताए।

उनले बैंकहरुले पनि निजी क्षेत्रलाई सहुलियत दिनुपर्ने अवस्थामा केही बैंकहरुले ब्याज बढाउनु राम्रो नभएको बताए। उनले सरकारी बैंकहरु ब्याजदर घटाएको भन्दै अन्य बैंकहरुले पनि ब्याजदर घटाउने तर्फ ध्यान दिन आवश्यक रहेको बताए।

अर्थमन्त्री महतले निक्षेप तथा कर्जा सुरक्षण कोषले कर्जा लगानीमा टेक्टोलोजी प्रणालीमा अग्रहणी भुमिका खेल्न आवश्यक रहेको बताए। उनले निक्षेप तथा कर्जा सुुरक्षण कोषले निक्षेपकर्ताहरुको लगानी जोखिमलाई न्युनिकरण गर्नसके मात्रै निक्षेप बढ्नसक्ने बताए। उनले साना–साना वचत कर्जा र उद्यमहरुको विकास गर्नसके मात्रै अर्थतन्त्र माथि जानसक्ने बताए।