नेपालीको उद्धारका लागि प्रधानमन्त्रीले तदारुक्ताका साथ पहल लिनुपर्ने गिरीको माग
काठमाडौं— नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले इजरायलमा रहेका नेपालीको उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले तदारुक्ताका साथ पहल लिनुपर्ने माग गरेका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा सचेतक गिरीले सरकारले एउटा विज्ञप्ति मात्रै जारी गरेर नपुग्ने भन्दै प्रधानमन्त्री स्वयंले समकक्षीसँग टेलिफोन संवाद गरी नेपालीको जीवन रक्षाका लागि पहल लिनुपर्ने माग गरेका हुन् ।
‘सरकारले एउटा विज्ञप्ति जारी गरेर मात्रै पुग्दैन । संसदमा मन्त्रीले त्यहाँको घटनाको विवरण दिएर मात्रै पुग्दैन । देशको प्रधानमन्त्रीले त्यहाँका प्रधानमन्त्री बेन्जामित न्यतान्याहुलाई फोन गरेर संवाद गर्नुपर्छ’, प्रमुख सचेतक गिरीले भने, ‘हाम्रा नागरिकको छिटोभन्दा छिटो जीवन रक्षा गर्नुपर्यो । उनीहरूको उद्धार गर्नुपर्यो । उपचारको काम तुरुन्त हुनुपर्यो । यहाँको प्रधानमन्त्रीले समकक्षीसँग सिधासिधी कुरा गर्नुपर्छ ।’
उनले संयुक्त राष्ट्रसंघको जारी महासभामा नेपाली प्रतिनिधिले नेपाली नागरिकका बारेमा सघन ढंगले विषय उठाएर यूएनको ध्यानाकर्षण गर्नुपर्ने पनि बताए । रोजगारीको शिलशिलामा हजारौँ र अध्ययन गर्न सयौँको संख्यामा नेपालीहरू इजरायल पुगेका भन्दै उनले उनीहरूले आफ्नो जीवन रक्षाका लागि गरेको अपिलमा सरकार गम्भिर भएर लाग्नुपर्ने बताए ।