एमाले कार्यकर्ताहरू सुरक्षा घेरालाई चुनौती दिएर धावनमार्गमा प्रवेश गरेः भीमदत्त पन्त

बुधबार, २४ असोज २०८०

काठमाडौं— जनकपुर विमानस्थलका प्रमुख भीमदत्त पन्तले एमाले कार्यकर्ताहरू सुरक्षा घेरालाई चुनौती दिएर धावनमार्गमा प्रवेश गरेको बताएका छन् । एमाले मधेश प्रदेश अधिवेशन उद्घाटनका लागि अध्यक्ष ओली यति एयरलाइन्सको जहाजबाट बुधबार जनकपुर विमानस्थल पुगेका थिए।

ओलीलाई स्वागतका लागि एमाले कार्यकर्ताहरू जहाजकै ढोकामा पुगेका थिए। यसबारे विमानस्थल प्रमुख पन्तलाई जिज्ञासा राख्दा एमाले कार्यकर्ताहरूले सुरक्षाको घेरालाई चुनौती दिएर विमानस्थलभित्र पसेको र जहाजको ढोकामै पुगेको जवाफ दिए।

अध्यक्ष ओली जनकपुर आउने भएपछि बुधबार बिहानै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय भएको उनले बताए।

‘नियन्त्रणका लागि डिआइजी, सिडि‌ओलगायत धेरैजनाको उपस्थिति थियो। तर २५ जनाभन्दा बढी कार्यकर्ताको समूहलाई नियन्त्रण गर्न सकिएन,’ उनले भने। विमानस्थलमा मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी जनक भट्टराई, प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेलगायत पुगेका थिए।

विमानस्थलले यसअघि भिआइपी रिसिभ गर्न आउँदा ५ जनाभन्दा बढी व्यक्ति नआउनु भनेर पत्राचार समेत गरेका थियो। हवाई सुरक्षाबारे चनाखो हुँदाहुँदै पनि विमानस्थलमा बल प्रयोग भएको विमानस्थल प्रमुख पन्तको भनाइ छ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार जनकपुरमा बुधबार हवाई सुरक्षाको गम्भीर उल्लंघन भएको छ। ‘सुरक्षा निकायले नियन्त्रण गर्नुपर्ने हो, को मान्छे हुन्, कुन प्रयोजनका लागि गएका हुन् भन्नेबारे प्राधिकरणले अनुसन्धान गर्नेछ,’ उनले भने।

एमाले मधेश संसदीय दलका नेता सरोज यादवले भने कार्यकर्ताहरू धावनमार्गमा नगएको दाबी गरेका छन्।