नक्कली अफरलेटर बनाउँछ काठमाडौंको फ्र्याङ्कलिन एजुकेशनल कन्सल्टेन्सी
काठमाडौं – काठमाडौंको फ्रयाङ्कलिन एजुकेशनल कन्सल्टेन्सीले विद्यार्थीलाई विश्वविद्यालयको नक्कली अफरलेटर बनाएर दिने गरेको पाइएको छ । फ्रयाङ्कलिनले बेलायतको विपिपि विश्वविद्यालयको अफरलेटर नक्कली बनाएर दिने गरेको पाइएको हो । फ्रयाङ्कलिनले बनाएको अफरलेटरका आधारमा विश्वविद्यालयमा पैसा पठाउँदा विश्वविद्यालयले अफरलेटर बिना किन पैसा पठाएको भन्दै इमेल गरेपछि यस्तो रहस्य खुलेको हो ।
काठमाडौंका रामबहादुर (नाम परिवर्तन)ले आजभन्दा १ महिना अगाडि विपिपि विश्वविद्यालयमा मास्टर्स अध्ययनका लागि आवेदन दिएका थिए । उनको आवेदन अनुसार विश्वविद्यालयका प्रतिनिधि दिपक खड्का वा उनको टिमले विश्वविद्यालयको नक्कली अफरलेटर भिडाइदिएको थिए । सोही अफरलेटर अनुसार उनले बेलायतमा रहेको विश्वविद्यालयको बैंक खातामा ट्युसन फि जम्मा गरेका थिए ।
पैसा जम्मा गरेको भोलीपल्ट कलेजले पैसा किन जम्मा गरेको भनेर इमेल गरे पछि फ्रयाङ्कलिनको नक्कली अफरलेटरको धन्दा सार्वजनिक भएको थियो । विश्वविद्यालयले इमेल गरेपछि विद्यार्थीको भविश्य अन्धकार बनेको छ । विश्वविद्यालयको नेपालमा अवैध मार्केटिङ गरिरहेका दिपक खड्काले मिलाउने प्रयास भइरहेको भन्दै विद्यार्थीलाई थम्थम्याइरहेका छन् ।
‘एक हप्तामा तपाईंको काम हुन्छ चिन्ता नलिनुहोस् भन्न थालेको धेरै भइसकेको छ ।’, विद्यार्थीको नजिकका एक आफन्तले भने, ‘हाम्रो पैसा फसेको महिना दिन वितिसक्दा पनि विश्वविद्यालयले कुनै निर्णय दिएको छैन । हामीलाई आर्थिक रुपमा क्षति भएको त छ नै मानसिक रुपमा पनि कमजोर बनाएको छ ।’
यता, कन्सल्टेन्सीका संचालक उमेश खड्काले सबएजेण्टका कारण विद्यार्थीले दुःख पाएको बताए । ‘हामीले यस्ता थुप्रै केसहरुको ह्याडेलिङ गरिरहेका छौं । तपाईंले समाचार लेख्दा हामीलाई त केही फरक पर्दैन ।’, मोटिभेट न्यूज डटकमसँगको टेलिफोन संवादमा उनले भने, ‘त्यो विद्यार्थीको एकेडेमिक डकुमेन्टका कारण अफरलेटर नआएको हो । अमेरिकाको एउटा विश्वविद्यालयबाट डिग्री लिएको छ, उक्त डिग्री पढाउने कलेज नेपालमा भेटिएन । त्यसपछि विश्वविद्यालयले उसको प्रक्रिया रोकिदिएको मात्र हो । हामी यो समस्याको समाधान गर्न लागि परेका छौं ।’
विद्यार्थीले काठमाडौं थापागाउँमा रहेको प्रेसिडेन्सियल कलेजबाट अमेरिकन डिग्री हासिल गरेका थिए । तर कन्सल्टेन्सीले उनको एकेडेमिक डकुमेन्टमा खोट देखाउँदै आफ्नो कमजोरी लुकाउन खोजेको विद्यार्थीका आफन्तको भनाई छ । यो कन्सल्टेन्सीमा काम गर्ने कर्मचारीहरुको अनुभव नभएकाले थुप्रै विद्यार्थीले दुःख पाएको उनीहरुको भनाई छ ।
कलेजका प्रतिनिधि नेपाली मुलका बेलायती नागरिक दिपक खड्काले नेपालबाट इस्यु गरेको अफरलेटर भारतको शाखाले एप्रुभ नगर्दा समस्या आएको बताए । ‘हाम्रो नेपालमा त सामान्य अफिस हो, यसको मुख्य अफिस त भारतमा छ । हामीले इस्यु गरेको अफरलेटर त्यहाँको कार्यालयले पनि एप्रुभ गरेपछि विश्वविद्यालयको सिस्टममा देखिन्छ । तर त्यो भाईको विविध कारणले एप्रुभ भएन ।’ मोटिभेटसँगको भेटमा उनले भने ।
यो विश्वविद्यालयका प्रतिनिधि दिपक खड्काले नेपालमा अबैध मार्केटिङ गरिरहेका छन् । उनले जारी गरेका कण्डिशनल अफरलेटर तथा अनकण्डिशनल अफरलेटर सबै नक्कली हुने गरेको व्यवसायीहरुको भनाई छ । उनले नेपालमा आफूखुशी अफरलेटर दिने र भारतबाट त्यसको एप्रुभ नहुँदा समस्या आउने गरेको व्यवसायी बताउँछन् । नेपालमा सरकारको स्वीकृत बिनानै विश्वविद्यालयको सम्पर्क कार्यलय खोलेर खड्काले अबैध मार्केटिङ गरिरहेका छन् ।