संसद्मा उठाएका विषय सरकारले सुन्दैन, मिडियाबाट सुनाउन बाध्य छौंः राजेन्द्र बजगाईँ
काठमाडौं— नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईँले आफूहरूले संसद्मा उठाएका विषय सरकारले नसुन्ने र मिडियाबाट सुनाउन बाध्य भएको बताएका छन् । उनले संसद्मा उठाएका महत्त्वपूर्ण विषयको कार्यान्वयन पक्ष फितलो भएकाले ती विषय आफ्ना मतदातालाई सुनाउन मात्र बोलेको जस्तो आफूलाई अनुभव हुने गरेको पनि टिप्पणी गरे ।
सांसद बजगाईँले भने, ‘सदनमा कुरा राख्न पाइएको छ । सुनुवाइ हुँदैन, सरकारलाई सुनाउँदा सरकार सुन्दैन । सरकारले नसुनेपछि मिडियामार्फत सुनाउनुपर्ने अवस्था छ । जिम्मेवारी निर्वाह गर्ने सम्बन्धमा अनुशासन र नियम–कानुनको पालना भएको देखिँदैन । कर्तव्य निर्वाह नगरे पनि कसैलाई डर छैन ।’
संसद्मा नकारात्मक सोच रहने गरेको गुनासो गर्दै उनले कसले कसलाई छिर्के हान्ने भन्ने प्रवृत्ति रहेको उल्लेख गरे । सामूहिक सकारात्मक एकताको कमी रहेको उल्लेख गर्दै उनले भने, ‘संसद्मा बेलिरहने हो । संसद्मा बोलेको कुरा मतदातालाई सुनाउन बोलेको जस्तो हुने हो । हाम्रो माननीयले बोलेको थियो त भन्ने मात्र हुने हो ।’ उनी दुई पटक पार्टीको केन्द्रीय सदस्य र एक पटक प्रदेशसभा सदस्यमा पराजय व्यहोरे पनि राजनीतिमा निरन्तर सङ्घर्षशील रहिआउनुभएको छ ।