बाबुराम र विप्लवसँग निरन्तर संवाद भइरहेको छ, एकताका साथ अघि बढ्ने छौंः प्रधानमन्त्री
काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सँग निरन्तर संवाद भइरहेको बताएका छन्।
रूकुम पश्चिममा आइतबार पार्टीले गरेको कार्यक्रममा बोल्दै प्रचण्डले एकताका साथ अघि बढ्ने बताए।
‘विप्लवसँग आज बिहान मात्रै छलफल भयो, बाबुराम भट्टराईसँग पनि निरन्तर संवाद भइरहेको छ,’ उनले भने, ‘विगतको जस्तो विभाजित भएर नभइ एकताका साथ अगाडि बढ्ने विषयमा छलफल भएको छ।’
पटक–पटक पार्टी विभाजन हुँदा कार्यकर्ता र सहिद तथा घाइते परिवारमा निराशा छाएको बताएका दाहालले माओवादी फुटेपछि ुजनयुद्धुमार्फत् प्राप्त भएको उपलब्धि हराउँदो रहेछ भन्ने परेकाले एकताको विकल्प नभएको बताए।
उनले देश र जनताको हितमा निरन्तर अभियान सुरु गरिएको बताए। भ्रस्टाचारको अन्त्यका लागि सरकारले सार्थक र योजनाबद्ध अभियान चलाएको प्रधानमन्त्री दाहालको भनाइ छ।
प्रधानमन्त्रीले भूमाफियाकोविरुद्ध अभियान सुरु गरेर हजारौँ जनतालाई राहत प्रदान गरिएको उल्लेख गर्दै त्यसका लागि आम जनताको सार्थक सहयोग जरुरी रहेको बताए।
प्रधानमन्त्री दाहालले नियमित रुपमा भइरहेको सुन तस्करी नियन्त्रणका लागि सरकारले अभियान चलाएको र सो मुद्दा हाल अदालतमा विचाराधीन रहेको उल्लेख गरेका थिए।
भ्रष्टाचार र तस्करी नियन्त्रणजस्ता देश विरोधी गतिविधिलाई माओवादी नेतृत्वको सरकारले मात्र नियन्त्रण गर्न सक्छ भन्ने तथ्य स्थापित भएकोसमेत प्रधानमन्त्रीको भनाइ थियो।
तराई–मधेसमा लामो समयसम्म सामन्तवादको अवशेषका रुपमा रहेको मिटरब्याजी विरुद्धमा कानुन बनाएर कारबाही गरी पीडित नागरिकलाई न्याय दिलाएको उनले बताए।
सरकारले विकास निर्माणको कामलाई पनि सार्थक रुपमा अगाडि बढाएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले लामो समयदेखि चर्चामा सीमित भएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कामसमेत अगाडि बढेको बताए।