उज्यालो अभावकै कारण अकालमा ज्यान गुमाउनुपर्ने बाध्यताको महानगरले अन्त्य गर्नेछः चिरिबाबु महर्जन

शुक्रबार, १५ मंसिर २०८०

काठमाडौं— ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उज्यालो अभावकै कारण अकालमा ज्यान गुमाउनुपर्ने बाध्यताको अन्त्य गर्न महानगर लागिपरेको बताएका छन् । उनले महानगर क्षेत्रकै ७.९ किलोमिटर चक्रपथमा बत्ती बलिसकेपछि बत्ती नभएको कारणले दुर्घटना नहुने पनि बताए ।

बिहीबार साँझ ललितपुर महानगर क्षेत्रभित्र दोस्रो चरणमा जडान गरिएको स्मार्ट सडक बत्ती उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । महर्जनले कुसुन्ती क्षेत्रमा बत्ती नभएकै कारण अहिलेसम्म २४ जनाको निधन भइसकेको र धोबिघाट क्षेत्रमा ३४ जनाको ज्यान गइसकेकाले अबको १० दिन भित्र बत्ती बाल्नको लागि टेन्डर आह्वान गर्ने बताए ।

मेयर महर्जनले सडकमा स्मार्ट लाइटका लागि महानगरले यस वर्ष ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको र १ करोड २० लाख विद्युत् प्राधिकरणको सहयोग हुँदा कुल ४ करोड २० करोड रुपैयाँ बत्तीका लागि छुट्टाइएको बताए । उनले दुई वर्षको काम सकिसकेपछि ललितपुर महानगरपालिका उज्यालो हुने बताए ।

मेयर महर्जनले रात्रिकालीन अवस्थामा जहाजमा चढेर काठमाडौँ उपत्यका हेर्दा उज्यालो देखिने सहर ललितपुर हुने बताए । महानगरले दोस्रो चरणमा १४ सय थान सडक बत्तीमध्ये सातदोबाटो हरिसिद्धि, सातदोबाटोदेखि सुनाकोटी, सातदोबाटोदेखि धापाखेल, एकान्त कुना भैंसेपाटीदेखि चुनिखेलसम्म, बुङमती दोबाटोदेखि थसीखेल, खोकना दोबाटोदेखि खोकनासम्म, मेडिसिटी हस्पिटलदेखि चोभारको पुलसम्म १४ सय थान लाइट जडान गरेको हो । महानगरले पहिलो चरणमा ६६९ थान सडक बत्ती जडान भएको थियो ।