एनआईसी एशियाद्वारा सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम

आइतबार, १७ मंसिर २०८०

काठमाडौं— एनआईसी एशिया बैंकले सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम गरेको छ । बैंकले मुलुकको वर्तमान आर्थिक अवस्थाका कारण आफ्ना ऋणी/ग्राहकहरूमा परेको असरलाई मध्यनजर गर्दै यसभन्दा अगाडि ३ प्रतिशत भन्दा बढी प्रिमियम भएका ग्राहकहरूको कर्जामा ३ प्रतिशत प्रिमियम कायम गरेको हो ।

बैंकका प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले आईतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् । उनले बैंकको मंसिर महिनाको औषत आधार दर १०.७ प्रतिशत रहेकोमा त्यसमा ३ प्रतिशत प्रिमियम थप गरी कर्जाको अधिकतम ब्याजदर १३.७ प्रतिशत कायम गरिएको बताए ।

उनले भने, “बैंकले ल्याएको यो नयाँ प्रिमियम दर फोन लोन र क्रेडिट कार्ड बाहेक बैंकबाट प्रवाह भएका अन्य कर्जाहरू जस्तै घर कर्जा, व्यवसाय कर्जा, सवारी कर्जा, शेयर कर्जा लगायत सम्पूर्ण कर्जाहरूमा लागू हुने व्यवस्था गरिएको छ । आर्थिक गतिविधि संकुचन भइरहेको यस समयमा ग्राहकहरूमा परेको आर्थिक भारलाई कम गर्ने हेतुले बैंकले ल्याएको यस सहुलियतबाट ब्याजदर कम हुन गई उनिहरूलाई कर्जा भुक्तानीमा सहज हुने छ ।’