इक्यान चितवनकाे निर्वाचन हुँदै, अध्यक्षमा त्रिपक्षीय भिडन्त

बुधबार, २७ मंसिर २०८०

चितवन – नेपाल शैक्षिक परामर्श संघ (इक्यान), चितवन शाखाको १२ औं साधारणसभा तथा ७औं अधिवेशन यहि मंसिर २९ गते हुने भएकाे छ । साधारणसभा तथा अधिवेशनकाे‌ सम्पूर्ण तयारी पूरा भएकाे इक्यान, चितवनले जनाएकाेे छ ।

साधारणसभा तथा अधिवेशनले आगामी दुई बर्षको लागि नयाँ कार्यसमितिसमेत चयन गर्नेछ । नयाँ कार्यसमितिको नेतृत्वका लागि तीन जना आकाँक्षी देखिएका छन् ‌। वर्तमान कार्यसमितिका उपाध्यक्ष तथा निपाेन एजुकेशनका दीपकचन्द्र भट्टराई, अघिल्लो निर्वाचनमा अध्यक्षमा पराजित भएका पेन्गुइन एजुकेशनका सुदिप भट्टराई र आएम्स अब्राेड एजुकेशनका कृष्ण कंडेलले नयाँ नेतृत्वका लागि आकाँक्षा देखाएका छन् ।

भट्टराई दाजुभाईले प्यानलै बनाएर निर्वाचनमा भिड्ने तयारी गरिरहेका छन् भने कंडेलले सर्वसम्मत् भए अध्यक्ष बन्ने बताइरहेका छन् । सर्वसम्मत् नेतृत्वका लागि थुप्रै प्रयास भएपनि सफल हुन नसकेकाे इक्यान चितवनका अध्यक्ष समुन्द्र अर्यालले बताए ।
“सर्वसम्मत् नेतृत्व ल्याउन धेरै प्रयास गरियाे तर केहि गरि पनि मिलाउन सकिएन ।”, अध्यक्ष अर्यालले भने, “इक्यानकाे इतिहासमा पहिलाे पटक भट्टराई दाजुभाईकाे भिडन्त हुँदैछ । भट्टराईलाई मिलाउन सकिए सर्वसम्मत् नेतृत्व ल्याएर सानदार रूपमा विदाई हुन सकिन्थ्यो, तर त्याे सम्भव भएन ।”

दीपकचन्द्रकाे प्यानलमा उपाध्यक्ष प्रज्वल पाैडेल, सचिवमा शिषिर रेग्मीले उम्मेदवारी दिने तयारी गरेका छन् भने सुदिपकाे प्यानलबाट पदाधिकारीकाे टुंगाे लागि सकेकाे छैन । इक्यान चितवनमा ५२ जना मतदाता रहेका छन् ।