इक्यानकाे गरिमालाई उचाई राख्न मेराे उम्मेदवारी : दिपकचन्द्र भट्टराई

बुधबार, २७ मंसिर २०८०

चितवन – नेपाल शैक्षिक परामर्श संघ (इक्यान), चितवन शाखाका उपाध्यक्ष दिपकचन्द्र भट्टराइले इक्यानकाे गरिमालाई उच्च राखिराख्न आफू नेतृत्वमा आउन लागेको बताएका छन् । मंगलबार माेटिभेट न्यूजसँग कुरा गर्दै भट्टराईले यस्ताे बताएका हुन् ।

उनले आफू इक्यानमा निरन्तर कुनै न कुनै भूमिकामा रहेर काम गरिरहेकाले नेतृत्व गरेर एक पटक इक्यानलाई गरिमामय संस्था बनाउन रहर लागेकाे बताए । “म कार्यसमिति सदस्य, काेषाध्यक्ष, उपाध्यक्ष हुँदै अध्यक्षका लागि तयारी गरिरहेकाे छु ।”, माेटिभेटसँग उनले भने, “मैले जति इक्यानलाई बुझेको छु अरूले सायद कम बुझ्नु भएकाे हाेला । म नेतृत्वमा आए अन्य पदमा हुँदा गर्न नसकेका कामहरू गरेर नमुना इक्यान बनाउने याेजना छ ।”

उनले आफू इक्यानकाे काेषाध्यक्ष भएर जग हालेका कारण उपाध्यक्ष हुँदा इक्यानलाई ऋण मुक्त बनाएकाे दाबी गरे । “म काेषाध्यक्ष हुँदा इक्यानकाे ऋण ५ लाख भन्दा बढी थियाे । याे ऋण कसरी तिर्ने भन्ने ममा एक खालकाे हुटहुटी हुन्थ्यो ।”, उनले भने, “त्यही हुटहुटीका कारण ऋण मुक्त भएर अहिले इक्यान शाखाहरू मध्य धनी शाखा बनेकाे छ । त्या मेराे पहल कदमीमा भएकाे हाे ।”

उनले , जापानीज भाषा परिक्षा JLCT, ICERT काे टेस्ट सेन्टर ल्याएर इक्यानलाई आत्म निर्भर बनाएकाे बताए । “काेषाध्यक्ष हुँदा पहल गरेकाे थिए, उपाध्यक्ष हुँदा पनि मलाई नै यसकाे जिम्मेवारी प्राप्त भयाे ।”, उनले भने, “आफ्नाे जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेकाले इक्यानलाई ऋण मुक्त बनाएर धनी शाखा बनाउन सफल भएँ ।”

उनले आफू अध्यक्षमा निर्वाचित भएकाे खण्डमा व्यवसायीका लागि काउन्सिल तालिम संचालन गर्ने, लिडरसिप तालिम राखेर व्यवसायीकाे नेतृत्व क्षमता बढाउने, इक्यान चितवनकाे क्यालेण्डर बनाएर तालिका अनुसार काम गर्ने, सामाजिक उत्तरदायित्वलाई जाेडी दिने, कला संस्कृतिको जगेर्ना गर्नका लागि विभिन्न कार्यक्रम गर्ने याेजना रहेकाे बताए ।

उनले आफू निर्वाचित भए व्यवसायलाई अमर्यादित बनाउन भूमिका खेल्ने अवान्छित तत्वहरूलाई निरूत्साहित गर्ने बताए । यही मंसिर २९ गते इक्यान, चितवनकाे निर्वाचन हुँदैछ ‌‌‌‌। उक्त निर्वाचनमा नयाँ नेतृत्वका लागि भट्टराईसहित तीन जनाले आकाँक्षा देखाएका छन् ।