विकाश, सेवा र सुशासनको क्षेत्रमा अहिलेसम्मकै रेकर्ड तोड्छु: प्रधानमन्त्री प्रचण्ड

मंगलबार, १० पौस २०८०

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कार्यकालको पहिलो एक वर्षमा विकाश, सेवा र सुशासनको क्षेत्रमा धेरै रेकर्डहरू बनेको बताउँदै आगामी वर्षमा थप रेकर्डहरू बन्ने दाबी गरेका छन् । माओ जयन्तीको अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू अब परिणाम निकाल्ने ढङ्गले अघि बढेको बताएका हुन् ।

उनले भने, ‘आजको सम्बोधनमा म एक वर्षमा भएका काम, गर्न नसकेका काम र गर्नुपर्ने कामको विषयमा जनतालाई जानकारी दिनेछु । मैले एक वर्षको परम्परा तोडेर जाने भनेको छु र मैले त्यसो गरेको छु भन्ने मेरो दाबी छ ।’

उनले पुसको सुरुवातदेखि नै आफू १० बजे नै सिंहदरबार पुगेर मन्त्रालयले कति काम गरे र किन काम भएन भन्नेबारे जानकारी लिइरहेको सुनाए । ‘अरूलाई उपदेश दिनुभन्दा प्रधानमन्त्रीले नै आफ्नै कार्यशैलीमा परिवर्तन गरेको देखुन् भनेर मैले आफ्नो कार्यशैलीलाई परिवर्तन गरेर परिणाममुखी बनाउन लागेको छु,’ प्रधानमन्त्रीले भने, ‘कर्मचारीतन्त्रैलाई एकीकृत ढङ्गले अघि बढाएर परिणाम दिने तरिकाले तयारी सुरु गरिसकेको छु । आज जनतालाई कामको लक्ष्य पनि भन्छु ।’ उनले सुशासन, सामाजिक न्याय र समृद्धिको नारा अन्तर्गत नै समाजवादको आधार तयार गर्नुपर्ने जिकिर गरे ।

कार्यक्रममा माओ त्से तुङलाई सम्झँदै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले नेता माओले चिनियाँ क्रान्तिलाई अघि बढाउने क्रममा र जनवादी क्रान्ति सम्पन्न गर्ने क्रममा केही मौलिक विचारहरू विकास गर्दै लगेको स्मरण गरे । ‘चिनियाँ क्रान्तिलाई अगाडि बढाउने सन्दर्भमा मार्क्सवादका तीन वटै आधारभूत अंग ९ दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादमा उहाँले सार्वभौम योगदान गर्नुभयो । जसलाई हामीले माओवाद भनेर संश्लेषित गरेका छौँ ।’

माओले जीवनभर श्रमजीवीको पक्षमा र मार्क्सवादलाई रचनात्मक ढङ्गले प्रयोग गर्ने पक्षमा प्रयोगका मौलिक ढङ्गले योगदान गरेको उनको भनाई छ । नेपालको जनवादी क्रान्तिलाई मौलिक ढङ्गले सफल पारेर आफूहरू पनि अहिले समाजवादको आधार तयार पार्ने प्रक्रियामा रहेको उनको जिकिर छ ।