रविले ‘कोर टिम’ बनाएर यसरी डुबाएका थिए ‘ग्यालेक्सी फोर–के’ टेलिभिजन
काठमाडौं – तामझामसाथ खोलिएको ‘ग्यालेक्सी फोर–के’ टेलिभिजन स्थापनाको तेस्रो वार्षिकोत्सव मनाउन नपाउँदै बन्द हुने अवस्थामा पुगेको छ । टेलिभिजनमा लामो समयदेखि तलब नपाएका पत्रकारले प्रशारण रोकेका छन् भने गीत मात्रै बजिरहेको छ । टेलिभिजन खुल्दा अध्यक्ष थिए गितेन्द्रबाबु राई (जिबी) र प्रबन्धनिर्देशक थिए रवि लामिछाने ।
रवि टेलिभिजन छोडेर राजनीतिमा होमिएपछि त्यहाँ कार्यरत पत्रकार तथा संचारकर्मीको अवस्था नाजुक बनेको छ । रविले टेलिभिजनमा कार्यरत हुँदा कोर टिम बनाएका थिए । कोर टिममा थिए दीपक बोहोरा र विपिनकुमार आचार्य छन् । टेक्नोलोजीको विषयमा राम्रो जानकारी भएका विपिन र दीपकले सामान खरिदमा धेरै कमिसन खाएको टेलिभिजनमा कार्यरत पत्रकार दाबी छ ।
लाख पर्ने सामान करोडमा र एक करोड पर्ने सामान १० करोडमा खरिद गरिएको उनैले बताए । विपिन ग्यालेक्सीमा क्रियटिभ डाइरेक्टर थिए । उनको आफ्नै छुट्टै प्रोडक्सन हाउस पनि छ । त्यससँगै उनको अन्य थुप्रै कम्पनी छ । विपिनले ग्यालेक्सीमा ‘फ्रयान्चाइज प्रोग्राम’ गर्ने भनेर करोडौं खल्तीमा हाले । न प्रोगाम शुरु भयो न उनले त्यो पैसाको हिसाबकिताब नै देखाए । खर्च गर्थे जिबी, कमाउँथे उनी । उनले ग्यालेक्सीको कर्मचारी परिचालन गरेर आफ्नो प्रोडक्सन हाउस चलाइराखेका थिए । जुन जिबीले पत्तो नै पाएनन् । खर्च ग्यालेक्सीको नाममा हुन्थ्यो, आम्दानी उनको खातामा जान्थ्यो ।
स्रोतका अनुसार जिबीले खुरुखुरु पैसा दिन्थे । उनी आफ्नो अन्य व्यवसायमा व्यस्त हुने भएकाले टेलिभिजनको आर्थिक हिसाबकिताब हेर्न भ्याउँदैनथे । उनले पैसा हाल्दै गए, त्यो पैसामा केहीको मोजमस्ती चल्यो । ग्यालेक्सीमा पानीजस्तै पैसा बगाइयो तर अन्तिममा बन्द भयो ।’ ग्यालेक्सी टेलिभिजनमा ‘द लिडर’ नामक रियालिटी शो सञ्चालन गर्ने नाममा करोडौं रूपैयाँ कुम्ल्याइयो । सञ्चालन नहुँदै विवादमा आएको कार्यक्रमका लागि विपिनमार्फत उठाइएको एक–एक हजार रूपैयाँको कुनै लेखाजोखा छैन । यता, विपिनले भने आफूमाथि लागेको सबै आरोप नकारेका छन् ।
उनले आर्थिकसँग जोडिएको विषयमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरे । क्रियटिभिटीबाहेकका क्रियाकलापमा आफ्नो कुनै लेनदेन नभएको उनले सुनाए । उनी भन्छन्, ‘क्रियटिभिटीसँग जोडिएको क्रियाकलाप मात्र मैले गर्दै आएको थिएँ । प्रोग्राम बनाउने व्यक्ति कसरी आर्थिक मामिलासँग जोडिन्छ ? त्यहीमाथि पनि मैले जागिर छोडेकै एक वर्ष भइसकेको छ ।’