सप्तरीबाट आयो उपेन्द्र यादवका लागि दुःखद खवर
काठमाडौँ – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका लागि सप्तरी जिल्ला कमिटीको विवादबारे दुःखद खबर प्राप्त भएको छ । पार्टीका कार्यकारिणी सदस्य रेणु यादव, केन्द्रीय सदस्य शैलेन्द्र साहलगायतको अगुवाइमा सप्तरीमा समानान्तर कमिटी गठनबारेको विवादले चर्को रुप लिएको छ ।
पार्टीका अध्यक्ष उपेन्द्र यादवको लगातार प्रयासपछि सो समानान्तर कमिटी भङ्ग भए पनि पार्टीभित्र देखिएको असन्तुष्टि समाप्त भएको छैन । माघ २७ गते प्रदेश सभाका सांसद अनिरुद्र प्रसाद सिंहलाई जसपामा प्रवेश गराएपछि पार्टीमा तीव्र असन्तुष्टि बढेको छ । पार्टीमा देखिएको विवाद समाधान गर्नका लागि दुई पक्षको बिचमा छलफल भएको थियो ।
समाधानका लागि भएको सहमति कुनै पनि कार्यान्वयन नभएको रेणु यादव पक्षका नेताहरूको दाबी छ । पार्टीभित्र यो असन्तुष्टि चलिरहेकै बेला जसपाका अध्यक्ष उपेन्द्र यादवले स्वतन्त्र प्रदेश सांसद अनिलरुद्र सिंह यादवलाई पार्टीमा प्रवेश गराए पछि असन्तुष्टि झन् बढेको स्रोतले जनाएको छ । २०७९ मा भएको चुनावमा जसपाबाट टिकट नपाएपछि अनिरुद्र सिंह सप्तरी–४ (ख) बाट स्वतन्त्रमा प्रदेशसभा सदस्यमा चुनाव जितेका थिए । सो क्षेत्रमा जसपाकी कार्यकारिणी सदस्य रेणु यादवका छोरा अभिषेक यादवले टिकट पाएर चुनाव लडेका थिए । तर अनुरुद्रले बाजी मारेका थिए ।
अनिरुद्र स्वतन्त्रबाट चुनाव लडेपछि पार्टीका कतिपय नेताले आन्तरिक रूपमा उसलाई सहयोग गरेर जिताएको आरोप रेणु यादवले लगाउँदै आएका छन् । रेणु यादव निकट एक नेताले भने, ‘अहिले आएर त्यो कुरा पुष्टि भएको छ, जुन व्यक्तिले पार्टीका नेतालाई चुनावमा हराएका थिए आज त्यही व्यक्तिलाई पार्टीमा स्वागत गरेका छन् भने यसले पुष्टि हुन्छ कि पहिलादेखि मिलिभगत थियो ।’
अनिरुद्र सिंहलाई पार्टीमा प्रवेश गराउँदा न सो क्षेत्रका नेता अभिषेक यादवसँग कुनै छलफल भएको छ, न रेणु यादवसँग कुनै सोधपुछ गरिएको छ । त्यसबाट रुष्ट भएर पार्टी छाड्ने तयारीमा पुगेकी छिन् ।
जसपाका एक नेताले भने, अब रेणु यादव जसपामा बस्नु हुन्न, उहाँ लगभग पार्टी छाड्ने मुडमा गइसक्नु भएको छ, उहाँका साथमा अन्य नेताहरुले पार्टी छाड्ने तयारीमा लागेका छन् ।’ जसपाका कार्यकारिणी सदस्य रेणु यादवले पार्टी छाडेपछि सप्तरीमा उपेन्द्र यादवलाई ठुलो धक्का लाग्ने अनुमान गरिएको छ । एक जना अनिरुद्रलाई भित्र्याए पछि अन्य नेताहरू पार्टी छाड्ने तरखरमा पुगेका छन् ।