टंगालबाट आयो गोकुल बास्कोटाका लागि दुःखद खबर, अक्रामक बन्दै अख्तियार

मंगलबार, १५ फाल्गुन २०८०

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको फाइल खोल्ने भएको छ । ‘७० करोड काण्ड’ का रुपमा परिचित यो प्रकरणमा अख्तियारले छानविनका लागि फाइल खोल्ने भएको हो ।

यो काण्डमा नेकपा एमालेका नेता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा मुछिएका थिए । बास्कोटाले एउटा विदेशी कम्पनीसँग ७० करोड कमिसन मागेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको विषयमा अनुसन्धान हुने बताए । संसदको सार्वजनिक लेखा समितिले मंगलबार विगतमा दिएको निर्देशनमा के भइरहेको भनेर अख्तियार प्रमुख राईसँग छलफल गरेको थियो । उक्त छलफलमा अनुसन्धान भइरहेको र छिट्टै निश्कर्षमा पुग्ने बताए ।

‘सेक्युरिटी प्रेसको अनुसन्धान भइरहेको छ, यो एउटा टेपको विषय थियो’ अख्तियार प्रमुख राईले भने, ‘हामीले छानबिन गरिरहेको छौं । भरपर्दो प्रमाण नभएसम्म हामीले कसैलाई पनि दोष ठहर्‍याएर (मुद्दा) लैजान हुँदैन ।’ तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसनको कुरा गरेको अडियो २०७६ फागुनमा सार्वजनिक भएको थियो । यो विवादपछि बास्कोटाले राजीनामा दिएका थिए ।