सरकार दिन काट्ने र काल पर्खिने जस्तो मात्रै हुनु हुँदैन: प्रचण्ड
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार दिन काट्ने र काल पर्खिनेजस्तो हुन नहुने बताएका छन्।
बिहीबार सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०८०र८१ को सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको समीक्षा कार्यक्रममा बोल्दै उनले सरकार दिन काट्ने र काल पर्खिनेजस्तो हुन नहुने बताएका हुन्।
उनले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको अवस्थाबाट समीक्षा गर्दा सन्तोष गर्ने ठाउँ नरहेको बताए।
उनले भने,’हामीले नीति कार्यक्रम र बजेटको समीक्षा गर्दा सन्तोष लिने ठाउँ देखिएनु स्थिति अझै चुनौतिपूर्ण छ। माननीय मन्त्रीहरूले राखेको कुराले पनि स्थिति जटिल छ भन्ने देखाएको छ।’
आफूले सरकार सम्हाल्दै गर्दा सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा नयाँ संकल्पको साथ काम गर्नुपर्छ भनेर अगाडि बढेको उनले बताए।
झण्डै एक वर्षसम्म ठीकै ढंगले गए पनि समीक्षासम्म आउँदा सबैमा बेचैनीको अवस्था देखिएको उनले बताए।
जनतालाई डेलिभरी दिने र विकासका क्षेत्रमा पनि केही गरेर देखाउने संकल्पका साथ अगाडि बढेको सरकार अहिलेको बेचैनीमा परिणत भएको उनले बताए।
चालु आर्थिक वर्षमा पुँजीगत खर्च २४ प्रतिशतभन्दा कम भएको उनले बताए। पुँजी निर्माण नभई विकासले गति नलिने पनि उनको तर्क थियो।
‘म के भन्न चाहन्छु भने मेरो दिमागभित्र अलि बेचैनी बढेको छ। दिन काट्ने र काल पर्खिनेजस्तो त सरकार हुन हुँदैनु, उनले भने, ‘हामीले जनतालाई परिणाम दिनेगरी केही गरेर देखाउँछौं भनेर अगाडि बढेको हो। तर, परिणाम त्यस्तो भइरहेको छैन। यसले मेरो, मुख्य सचिवदेखि सचिवहरूको पनि दिमागमा बेचैनी बढेको महसुस गरेको छु। चैन भए जस्तो देखिएको छैन। परिस्थिति अलिक बढी जटिल र चुनौतिपूर्ण देखिएको छ।’