पुनः गृहमन्त्री बन्दै रवि लामिछाने
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुनः गृहमन्त्री बन्ने भएका छन् । आज हुने मन्त्रीमण्डल पुनरगठनमा लामिछाने गृहमन्त्री बन्ने भएका हुन् । काँग्रेससहितको गठबन्धन भत्किएपछि आजै एमाले रास्वपासहितको नयाँ गठबन्धन बनेको छ । सो गठबन्धनको सरकारमा लामिछाने गृहमन्त्री बन्ने भएका हुन् ।
रास्वपाले विकसित सम्भावित नयाँ राजनीतिक घटनाक्रमबारे निर्णय लिने अधिकार तथा मन्त्री छनोट गर्ने अधिकार पनि सभापति लामिछानेलाई दिएको छ । आज बिहान बसेको पार्टीको बैठकले सत्ता समीकरण परिवर्तनको सम्भावना देखिएकाले त्यसबारे निर्णय लिने अधिकार सभापति लामिछानेलाई दिइएको महामन्त्री मुकुल ढकालले बताए ।
‘राजनीतिमा विकसित घटनाक्रमको सम्भावना देखियो भन्ने सभापतिले ब्रिफिङ गर्नुभयो । हामीले त्यसबारे निर्णय लिने अधिकार सभापतिलाई नै दिएका छौं’, उनले भने । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंग्याउनेबारे पनि सहमति गर्नु पर्ने भएकाले सभापतिलाई त्यसको अधिकार दिएको ढकालले बताए ।
नयाँ गठबन्धनमा पनि सरकारको नेतृत्व प्रचण्डले नै गर्नेछन् । एक बर्षअघि पनि रवि लामिछाने यही सरकारमा गृहमन्त्री बनेका थिए ।