राजनीतिक दृष्टिकोणसहित कृषि उत्पादन गर्छौं : सुमन सी
इटहरी – नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य एवम् केन्द्रीय उत्पादन बिभाग सदस्य सुमन सीले नेकपाले शुरु गरिरहेको सामुहिक उत्पादन सम्बन्धि काममा वैचारिक र राजनीतिक दृष्टिकोणसहित कामहरू गरिरहेको बताएका छन् । पूर्वको सुनसरी रामधुनी नगरपालिका वडा न ४ मा रहेको केन्द्रीय उत्पादनबारे जानकारी दिने क्रममा नेता सुमनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टीले नवौं महाधिवेशनपछि आत्मनिर्भर पार्टी र आत्मनिर्भर कार्यकर्तासहितको उद्देश्यसहित देशका विभिन्न ठाँउमा कृषि उत्पादनसम्बन्धि काम भैरहेको र त्यसलाई क्रमश व्यावसायिकरण, आधुनिकीकरण र प्राविधिकरण गर्ने आफुहरुले योजना बनाइरहेको समेत नेता सुमनले जानकारी दिए ।
“हामीले अहिले देशका विभिन्न ठाँउमा उत्पादन सम्बन्धि काम गरिरहेका छौं, यो कुनै आफ्नो व्यक्तिगत उदेश्य पूरा गर्नका लागि होइन, यसको पछाडि एउटा निश्चित बिचार र राजनीति पनि छ”, नेता सुमनले थपे”, अब यसलाई व्यावसायिक गर्दै जान्छौं, सिक्दै अगाडि बढ्छौं, यो समाजवादी अर्थतन्त्रको प्रयोग पनि हो”
कुराकानी को क्रममा उनले भारतबाट आउने कृषि उत्पादन र नेपाली उत्पादन एउटै बजारमा प्रतिस्पर्धा गर्नुपर्ने,आयातीत वस्तु र सेवाको लागत नेपाली वस्तु भन्दा निकै सस्तो हुने भएकोले यसले नेपाली कृषि उपजलाई निकै चुनौती भएको भन्दै यसको समाधानका लागि राज्य जिम्मेवार भएर लाग्नुपर्ने समेत बताए ।