चट्याङको जोखिमबाट कसरी बच्ने, यस्तो छ प्राधिकरणले दिएको ‘महत्वपुर्ण टिप्स’

आइतबार, १८ चैत्र २०८०

काठमाडौं –  स्थानीय वायुको प्रभावसँगै ‘लोकल सिस्टम’ थपिँदा काठमाडौंसहितका स्थानमा वर्षा भएको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिएका छन्।

शनिबार बेलुका काठमाडौंसहित मुलुकका विभिन्न स्थानमा हावाहुरीसहित चट्याङ परेपछि जनजीवन अस्तव्यस्त बनेपछि उनले  यस्तो जानकारी दिएका हुन्। यो प्रणाली विस्तारै पूर्वतिर लागेको उनले बताए ।

“स्थानीय वायुको प्रभाव त छँदै छ, लोकल सिस्टम पनि डेभलप भयो,” उनले भने, “पोखरामा बनेको यो सिस्टम त्यहाँदेखि यता आयो । यो सर्दै पूर्वतिर जाने देखिन्छ ।”

उनका अनुसार, लोकल सिस्टम छोटो अवधिमा विकास हुन्छ । छोटो समयमै यो कमजोर हुने उनले बताए । अहिले प्रिमनसुनको समय भएकाले लोकल सिस्टम अरूजस्तो धेरैअघि संकेत देखिँदैन । केही समयमै बनेर एक–डेढ घण्टामै निष्क्रिय हुन्छ ।

प्रिमनसुनमा शनिबारको जस्तो ‘एक्कासि’ हावाहुरी, मेघगर्जन र चट्याङ र वर्षा हुने उनले बताए । यो नै प्रिमनसुनको ‘नेचर’ भएको उनको भनाइ छ ।

प्रिमनसुन मनसुन सुरु हुनुभन्दा पहिलेको समय हो । प्रिमनसुनमा यस्ता गतिविधि सामान्य रहेको महाशाखाले जनाएको छ । अंग्रेजी महिनाको मार्च, अप्रिल र मेलाई प्रिमनसुन समय मान्ने गरिन्छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चट्याङको जोखिमबाट बच्न सावधानी अपनाउन अनुरोध गर्दै आएको छ ।

चट्याङबाट जोगिन विभिन्न उपायहरू अपनाउन सकिने प्राधिकरणले बताएको छ ।

“चट्याङ ठूलो मात्राको विद्युतीय करेन्ट हो । यसबाट हाम्रा घरहरूलाई धातुका सामग्री प्रयोग गरी सुरक्षित बनाउन सकिन्छ । तामा, आल्मुनियम तथा जीआईका रडक घरको सबभन्दा अग्लो भागमा राख्ने अनि सोही धातुका रड वा पाता जोडेर जमिनसम्म र्पुयाउने र तामाको रडसँग जोडी अर्थिङ गरिए धेरै हदसम्म घरहरू सुरक्षित हुन्छन्,” प्राधिकरणले भनेको छ ।

यस्तै, चट्याङबाट सुरक्षित रहन गड्याङगुडुङ गरेका बेला घरबाट बाहिर ननिस्कने र घरबाहिर भएमा तुरुन्त घरभित्र वा सुरक्षित स्थानमा जानुपर्छ । प्राधिकरणका अनुसार चट्याङबाट जोगिन पक्की घर, बस, भ्यान आदि सुरक्षित स्थान हुन् ।

तर, यस्ता सुरक्षित स्थान पुग्ने अवस्था नरहेमा अग्लो र एक्लो रुखको ओत लाग्न नहुने प्राधिकरणले जनाएको छ । बरु, रुखदेखि टाढा टुक्रुक्क बस्नुपर्छ । खुला चौरमा परेमा टुक्करुक्क बसी टाउकोलाई दुई घुँडाको बीच राखी कान थुन्न प्राधिकरणको सुझाव छ ।