मुख्यमन्त्री बनेको केहि दिन बित्न नपाउँदै जम्कट्टेललाई आइलाग्यो यस्तो आपत
काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई बागमती प्रदेशको मुख्यमन्त्री बनेको केहि दिन बित्न नपाउदै आपत आइलागेको छ। दलगत रुपमा मन्त्रालय भागबण्डाको कारण विना विभागीय मन्त्री व्यवस्थापन गर्न नसकेर आपत परेको हो।
तीन साताभन्दा लामो समयदेखि बागमतीमा एक मन्त्रीले जिम्मेवारी पाउन सकेका छैनन् । मुख्यमन्त्री जम्कट्टेलले संसदबाट चैत १९ गते विश्वासको मत लिइ सरकार सुरक्षित गरेसँगै प्रदेश सरकारमा एकीकृत समाजवादीकी सांसद रमा आले मगरलाई मन्त्री नियुक्त गरेका थिए । चैत २० मा शपथ ग्रहण गरेकी उनले अहिलेसम्म मन्त्रालय पाउन सकेकी छैनन् ।
मुख्यमन्त्री जम्कट्टेलले मौजुदा मन्त्रीपरिषदमा चैत २० मा एमालेबाट थप ४ मन्त्री नियुक्त गरेका थिए । एमालेका ४ जनाको विभाग तोकिँदा मन्त्री आले मगर भने जिम्मेवारीविहीन छिन । एक सातामा विभाग तोक्ने शर्तसहित मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पदभार ग्रहण गरेकी मन्त्री आले मगरले भागबण्डा र पावर सेयरिङमा सत्ता गठबन्धन दलमा सहमति जुट्न नसक्दा विभागीय जिम्मेवारी पाउन नसकेकी हुन् ।
प्रदेशमा १२ मन्त्रालय रहे पनि १३ मन्त्री नियुक्त गरेका मुख्यमन्त्री जम्कट्टेलले मन्त्री व्यवस्थापनका लागि सत्तारुढ दलहरूबिच सहमति जुटाउन सकिरहेका छैनन् । २ विकल्पसहित सत्ता साझेदार दल एकीकृत समाजवादीलाई प्रस्ताव गरे पनि सो विषयमा समेत ठोस निर्णय हुन सकेको छैन ।प्रदेशको १२ मन्त्रालयमा एक मन्त्रालय थप्ने मुख्यमन्त्री जम्कट्टेलको प्रस्तावलाई एकीकृत समाजवादीले सोझै इन्कार गरेको थियो भने रोजेको २ मन्त्रालयको विषयमा पनि समान हैसियत अनुसार भागबण्डा हुनुपर्ने माग गरेको थियो ।
प्रदेशको १२ मन्त्रालयमा एक मन्त्रालय थप्ने मुख्यमन्त्री जम्कट्टेलको प्रस्तावलाई एकीकृत समाजवादीले सोझै इन्कार गरेको थियो भने रोजेको २ मन्त्रालयको विषयमा पनि समान हैसियत अनुसार भागबण्डा हुनुपर्ने माग गरेको थियो । एकीकृत समाजवादीले पावर सेयरिङमा कमजोर बनाउने कोसिस भइरहेकाले मन्त्रालय हेरफेर गरेर मन्त्रीहरूको विभाग तोकिनुपर्ने माग गरेको थियो । उक्त मागका सन्दर्भमा सत्ता गठबन्धन दलहरूबिच सहमति जुट्न नसक्दा विना विभागीय मन्त्रीको व्यवस्थापन जटिल बनेको हो ।