अपुरो सत्य

शुक्रबार, २८ बैशाख २०८१

काठमाडौं – एक पानीजहाजका सहायक चालक तीन वर्षदेखि सोही जहाजमा कार्यरत थिए । एक दिन उनी रक्सीको नशामा डुबे । उनको कार्यकालमा यस्तो घटना पहिलोपटक भएको थियो । क्याप्टेनले यस घटनाबारे जहाजको नियमित रजिस्टरमा यसरी उल्लेख गरेका थिए, ‘आजको रात जहाजका सहायक चालक रक्सीको नशामा डुबेका थिए ।’

भोलिपल्ट होसमा आएपछि सहायक चालकले क्याप्टेनले लेखेको विवरण पढे । क्याप्टेनको यस एक वाक्यका कारण उनको जागिर जान सक्थ्यो । त्यसैले, उनी क्याप्टेनसामु पुगे । त्यस घटनाका लागि माफी मागे । उनले हात जोडेर क्याप्टेनसित भने, ‘सर, रजिस्टरमा हजुरले लेखेको वाक्यले मेरो जागिरे जीवन नै धरापमा पर्न सक्छ । त्यसैले, त्यस वाक्यको अन्तिममा ‘यस्तो घटना तीन वर्षमा पहिलोपटक भएको हो’ भन्ने एक वाक्य थपिदिनुहोस् न है ? आखिर सत्य पनि त यही हो ।’

क्याप्टेनले उनको आग्रह अस्वीकार गर्दै भने, ‘मैले रजिस्टरमा जे लेखेको छु, त्यो नै सत्य हो । त्यसैले, त्यसमा कुनै संशोधन हुन सक्दैन । यस घटनाको केही दिनपछि रजिस्टर भर्ने पालो सहायक चालकको थियो । उनले रजिस्टरमा लेखे, ‘आजको रात क्याप्टेन साहेबले रक्सी पिउनुभएन ।’

अर्को दिन क्याप्टेनले रजिस्टर पल्टाउँदा त्यस्तो लेखेको देखेपछि सहायक चालकलाई भने, ‘तिमीले जे लेख्यौ, त्यसमा मेरो गुनासो छैन । तर, तिमीले यो अपूरो वाक्य लेख्न पाउँदैनौ । त्यसैले, कि त यसलाई परिवर्तन गर कि त पूरा विवरण लेख । किनकि, तिम्रो अहिलेको लेखाइबाट त म हरेक दिन रक्सी पिउँथेँ र हिजो मात्र मैले रक्सी पिइनँ भन्ने बुझिन्छ ।’

त्यो सुनेर सहायक चालक मुसुक्क मुस्कुराए र भने, ‘सर, मैले जे लेखेको छु, साँचो लेखेको छु । र, यस्तो साँचो लेख्न मैले हजुरबाटै सिकेको त हुँ ।’ नयाँ पत्रिकाबाट