काँग्रेसले किन उल्ट्यायो संसदमा रविलाई बोल्न दिने निर्णय ?
काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेलाई संसदमा हिजो बोल्न अवरोध नगर्ने निर्णय काँग्रेसले उल्ट्याएको छ । सहकारी ठगी प्रकरणको छानविन गर्न संसदीय समिति नबनाउदासम्म लामिछानेलाई संसदमा बोल्न नदिने अडान राखेको काँग्रेसको संसदीय दलले हिजो विहान उनलाई बोल्ने बेलामा अवरोध नगर्ने निर्णय गरेको थियो ।
तर काँग्रेसको बैठकपछि बसेको संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा गृहमन्त्री लामिछानेले आफूले बोलेपछि अरुलाई बोल्न दिन नहुने अडान राखेपछि काँग्रेसले उनलाई पनि बोल्न नदिने निर्णय गरेको हो । गृहमन्त्री लामिछानेले आफुलाई प्रश्न गर्न नपाइने अडान राखेपछि काँग्रेसले उनलाई बोल्न दिने निर्णय उल्ट्याएको काँग्रेस महामन्त्री गगनकुमार थापाले बताए ।
संसदमा प्रधानमन्त्री तथा मन्त्रीहरुले बोलेपछि प्रश्न गर्न पाउने वा चित्त नबुझेका कुरा अन्य सांसदहरुले राख्न पाउने व्यवस्था र अभ्यास रहदै आएको छ । “उहाँले आफूले मात्रै बोल्न पाउनु पर्ने र त्यसपछि अरुलाई बोल्न दिन नहुने अडान राखेपछि काँग्रेस संसद अवरोध गर्न वाध्य भएको हो,” महामन्त्री थापाले भने ।