वर्तमान सत्ता समीकरण बृहत पार्टी एकताका लागि हो : महासचिव पोखरेल

आइतबार, ६ जेष्ठ २०८१

दाङ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सत्ता समीकरण बृहत कम्युनिस्ट एकताका लागि बनेको बताएका छन् । प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले बृहत कम्युनिस्ट एकताका लागि सत्ता समितिकरण बनेको बताएका हुन् ।

महासचिव पोखरेलले सत्ता बाहिर रहनुको छटपटीले काँग्रेस नेताहरूमा देखिएको उनको भनाई छ। उनले वर्तमान सत्ता गठबन्धनलाई २०८४ सालसम्म निरन्तरता दिने बताए। पोखरेलले भने,‘एमाले गठबन्धनको विकल्प खोज्ने पक्षमा छैन। वर्तमान सत्ता समीकरणलाई २०८४ को निर्वाचनसम्म निरन्तरता दिने पक्षमा हामी छौं।’

विगतमा कम्युनिष्ट एकता बचाउन नसक्नु गम्भीर त्रुटी भएको बताउँदै महासचिव पोखरेलले एमालेको प्राथमिकता वर्तमान सत्ता समीकरणको निरन्तरता र बलियो कम्युनिष्ट शक्ति निर्माण नै रहेको बताए। ‘एमालेको प्राथमिकता वर्तमान सत्ता समीकरणको निरन्तरता हो। बलियो कम्युनिष्ट शक्ति निर्माण हो’, महासचिव पोखरेलले भने ‘पार्टी एकता र २०८४ को निर्वाचनका लागि नयाँ सत्ता समीकरण निर्माण भएको नभई मुलुकलाई संकटमुक्त बनाउनका लागि हो। कम्युनिष्ट शक्तिका बीचमा सहकार्यको थालनी गर्नु मात्रै हो।’