मुख्यमन्त्रीले विश्वासको मत लिनेदिन नजिकिदै गर्दा सिके रावतका लागि मधेसबाट आयो दु:खद खबर
काठमाडौँ – मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने समय नजिकिँदै गर्दा केन्द्रको सत्ता गठबन्धनले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल जारी राखेको छ ।
यो अवस्थामा लोसपा नेपाल दुवैतिर तानातानमा परेको छ । महन्थ ठाकुर नेतृत्वको लोसपा नेपालले अहिलेको अवस्थामा उनले जुन पक्षलाई सहयोग गर्छ, त्यही पक्षको सरकार बन्ने अवस्था देखिएको छ ।
लोसपा नेपालले भने आफू कुन पक्षमा रहने भन्ने प्रस्ट पारिसकेको छैन । मधेस प्रदेश सरकार बनाउनका लागि केन्द्रको सत्ता गठबन्धनले लोसपा नेपालको साथ आफूलाई रहने दाबी गर्दै आएको छ ।
बिहीबारमात्र लोसपासहित पाँच दलको बिचमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति भएको भनेर विज्ञप्ति जारी भएको थियो । पाँच दलको बिचमा सहमति भएको भनिए पनि विज्ञप्तिमा तीन दलको हस्ताक्षर मात्र छ । लोसपा नेपालका नेताहरूले त्यसलाई तत्कालै खण्डन गरिसकेका छन् ।
नेकपा एकीकृत समाजवादीका मधेस प्रदेश संसदीय दलका नेता एवं मधेस सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपानेले पनि सत्ता गठबन्धनका दलहरूसँग कुनै प्रकारको सहमति वा कुराकानी नभएको बताए । उनले भने, ‘विज्ञप्तिमा तीन दलको हस्ताक्षर छ र भित्र पाँच दलबिच सहमति भएको भनिएको छ । त्यो कुरा फर्जी हो भन्ने यसबाटै प्रस्ट हुन्छ ।’