कट्टर आलोचकलाई पनि काम देउ
एकपटक अमेरिकाका राष्ट्रपति अब्राहम लिंकनले रक्षामन्त्रीमा आफ्ना कट्टर आलोचकलाई रोजे, जो जहिले पनि उनीविरुद्ध केही न केही बोलिरहन्थे । एक दिन राष्ट्रपति लिंकनका एक साथी उनलाई भेट्न आए र रक्षामन्त्रीको कुरा गर्दै उनले सोधे, ‘तपाईंले जुन मानिसलाई रक्षा मन्त्रालय सुम्पनुभएको छ, उसका बारे के तपाईंलाई राम्रोसँग थाहा छ ?’
‘हो थाहा छ, किन ? के भयो र ?’ राष्ट्रतिले आश्चर्य मान्दै सोधे । तब ती सज्जनले भने, ‘हिजो एउटा सभामा उनले तपाईंमाथि व्यंग्य गर्दै भने, तपाईं हेर्दा दुब्लो–पातलो गुरिल्लाजस्तो देखिनुहुन्छ ।’ ‘हो यो सब मैले आज बिहानको समाचारपत्रमा पढिसकेँ ।’ योभन्दा पहिलाको सभामा उनले तपाईंलाई भाँडको उपाधि दिएका थिए ।’ ती सज्जनले लिंकनलाई उकास्ने स्वरमा भने । ‘हो, यो पनि मलाई थाहा छ,’ राष्ट्रपतिले मुस्कुराउँदै भने ।
यो सब सुनेपछि ती सज्जनले केही दिक्क मान्दै बोले, ‘उनले अनेकौँपटक यसरी तपाईंको अपमान गरिसकेका छन् र यो सब तपाईंलाई राम्ररी थाहा भएर पनि तपाईंले उनलाई यति महत्वपूर्ण पद सुम्पिनुभएको छ ।’ ‘अरे साथी, महत्वपूर्ण पदमा न बसाएको हो, कुनै गलत स्थानमा त होइन नि,’ राष्ट्रपतिले मुस्कुराउँदै भने । तर, ती सज्जन नराम्रोसँग रिसाउँदै बोले, ‘तर तपाईं किन बुझ्नुहुन्न कि यसले तपाईंको प्रतिष्ठा खराब हुन्छ ।’
‘मैले केही बुझ्नुअगाडि तपाईं यो किन बुझ्नुहुन्न कि उनी एउटा योग्य प्रशासक हुन् । आफ्नो काम पूरा इमानदारी र निष्ठाले गर्छन् । रह्यो मेरो प्रतिष्ठाको कुरा, यो त मेरो देशलाई मेरो बारेमा राम्रोसँग थाहा छ, म के हुँ । अनि म यस्ता सानातिना कुराका कारण देशलाई एउटा कुशल रक्षामन्त्रीको सेवाबाट किन वञ्चित गरौँ । मलाई निजी भक्त होइन, देशभक्तको आवश्यकता छ,’ राष्ट्रपतिले ती सज्जनलाई बुझाउँदै भने । यो सुनेर ती सज्जन त्यहाँबाट चुपचाप हिँडे ।