‘चन्द्र सर’ को भाषा सिकाउने सजिलो तरिका

बुधबार, २० असार २०८१

भाषा कुनै विशेष ज्ञान नभई एक–अर्कासँग प्रतिक्रिया जनाउने माध्यम हो । भाषासम्बन्धी ज्ञानलाई लिएर कसैको बौद्धिकताको मापन गर्न सकिँदैन । तर, विभिन्न भाषाको ज्ञान हुनु आजको आवश्यकता हो । काम, पढाइ, घुमफिर आदिको सिलसिलामा हामी अर्को देशमा जानुपर्ने हुन्छ । जसका लागि उक्त देशको भाषा वा कम्तीमा पनि अन्तर्राष्ट्रिय भाषा जान्न आवश्यक छ ।

त्यसैले त आजभोलि हरेक ठाउँमा भाषा सिकाउने कक्षा सञ्चालन भइरहेका हुन्छन् । भाषा सिक्न अर्थ (मिनिङ) घोकेर कहिले पनि पोख्त बन्न सकिँदैन। भाषा छोटो समयमा सिक्न विद्यार्थीले निम्न कुरामा ध्यान दिनु जरुरी छ ।

  •  सिक्ने मान्छेमा म गर्न सक्छु भन्ने आत्मविश्वास हुन जरुरी छ । सबैभन्दा पहिले त गल्ती हुन्छ कि भन्ने डर मनबाट पूर्ण रूपमा हटाउनुपर्छ । साथीभाइसँग वा कक्षामा ढुक्क भएर बोल्दा आफूमा आत्मविश्वास बढ्नुका साथै भाषा सुधारका लागिसमेत उपयोगी हुन्छ ।

  •  कक्षामा नियमित सहभागी हुनुपर्छ । त्यस्तै, घरमा नियमित पढ्ने बानी बसालेमा भाषा सिकाइमा क्रमिक सुधार ल्याउन सकिन्छ ।

  • कक्षाकोठाका साथै आफ्नो समूहमा सकेसम्म धेरै अन्तर्क्रिया गर्न आवश्यक हुन्छ । शिक्षकहरूसँग पनि खुलेर अन्तर्क्रिया गर्नुपर्छ । यसले आफूमा भएका कमजोरी थाहा पाएर सुधार गर्न सहयोग पुग्छ ।

  • सुरु–सुरुमा बोल्दा लामा–लामा वाक्य प्रयोग गर्नुहुँदैन । लामा वाक्य प्रयोग गर्दा भाषा बिग्रने र अलमलिने डर हुन्छ ।

  • कुनै नयाँ शब्द आएमा नोट गर्नुपर्छ । बिस्तारै उक्त शब्द प्रयोग गर्ने अभ्यास गर्नुपर्छ ।

  • यति समयमा यी कुरा सिक्न सक्छु भन्ने कुराको विद्यार्थीले लक्ष्य लिन आवश्यक छ । यसरी लक्ष्यअनुसार अभ्यास गर्दा छिटो ज्ञान लिन सकिन्छ ।

  • भाषा सिक्दै गरेकाहरूले कक्षामा मात्र नभई बाहिर पनि अभ्यास गर्न आवश्यक हुन्छ । यसले विद्यार्थीमा लगनशीलताको विकास गर्छ। जसले गर्दा सिकाइमा सहजता हुन्छ ।

  • परीक्षामा नियमित सहभागी हुनुपर्छ। जसले गल्ती सच्याउन ठूलो सहयोग गर्छ। यसले भाषामा पोख्त बनाउँछ । नजानेको कुरा अरूसँग सिक्न डराउन वा हिच्किचाउनु हुँदैन ।

लेखक न्यौपाने युनिभा एजुकेशन कन्सल्टेन्सीका संचालक हुन् । उनी कोरियन भाषा प्रशिक्षणमा अब्बल मानिन्छन् ।