माओवादीको जुक्तिले फेल भैसकेको बजेट बालबाल जोगियो

बिहिबार, २८ असार २०८१

काठमाडौं – राष्ट्रिय सभा बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि डाकिएको बैठक आइतबारसम्मका लागि सरेको हो ।आजको बैठकले आगामी आर्थिक वर्षको बजेट पास गर्ने तयारी गरेको थियो । तर, एमाले र कांग्रेसले संशोधन प्रस्ताव राखेर बजेट फेल गराउने सुइँको पाएपछि बैठक सरेको हो । राष्ट्रिय  सभामा माओवादी केन्द्रको बहुमत छ।

महासचिव पद्य पाण्डेयले बिहीबार सूचना जारी गर्दै राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ अनुसार राष्ट्रिय सभा अध्यक्षले असार ३० गते आइतबार सवा १ बजे बस्नेगरी बैठक निर्धारण गरेको जनाएका छन् ।

आजको बैठकमा बजेट आश्रित तीन विधेयक पारित गर्न अर्थमन्त्री वर्षमान पुनले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । प्रतिनिधिसभाबाट पारित भई सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ लाई राष्ट्रियसभाबाट पारित गर्ने कार्यसूची नयाँ सरकार गठन गर्न दुई प्रमुख दलबीच समझदारी भएसँगै प्रभावित भएको हो ।