गृहमा रमेश लेखक, परराष्ट्रमा आरजु, एमालेबाट को–को बन्दैछन् मन्त्री ?
काठमाडौं – नेपाली कांग्रेसले मन्त्रीहरुको नाम अन्तिम टुंगोमा पुर्याउन लागेको छ । सभापति शेरबहादुर देउवाले आफ्नो निकट नेताहरुसँग छलफल गरेपछि मन्त्रीहरुको अन्तिम सूची तयार हुनेछ । एक नेताका अनुसार एकाध बाहेक अधिकांश नाम टुंगो लागेको छ ।
स्रोतका अनुसार पूर्व महामन्त्री प्रकाशमान सिंहले सरकारमा कांग्रेसको नेतृत्व गर्नेछन् । उनको मन्त्रालय भने टुंगो लागेको छैन । उनले रक्षा मन्त्रालय भए सहज हुने बताएका थिए । तर भागबण्डामा त्यो एमालेलाई परेका कारण मन्त्रालय टुंगो लागेको छैन । कांग्रेसबाट रमेश लेखक गृहमन्त्री हुने छन् । आरजु देउवा राणा परराष्ट्रमन्त्री हुनेछन् । अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हुनेछन् ।
दिपक खड्का, ऐनबहादुर शाही, किशोर सिंह राठोर र दिपक गिरीको नाम छलफलमा छ । दिपक खड्का र गिरीमध्ये एक तथा ऐनबहादुर शाही र किशोर सिंह राठोरमध्ये एक मन्त्री हुने सम्भावना छ । मन्त्रीमा तेजुलाल चौधरीको पनि नाम टुंगो लागेको छ । उनले स्वास्थ्य तथा जनसंख्यामा दाबी गरेका छन्, तर अहिलेसम्म उनको मन्त्रालय टुंगिएको छैन ।
शेखर–गगन समूहले तेजुलाल बाहेक थप चार मन्त्री आफूहरुले पाउनुपर्ने दाबी गरेको छ । तर देउवा तीन मन्त्री दिन तयार भएका छन् । चार मन्त्री पाएको अवस्थामा सहमहामन्त्री जीवन परियार र सांसदहरु प्रदीप पौडेल, हृदयराम थानी र रामनाथ अधिकारीलाई पठाउने तयारी गरेको थियो । अब ककसलाई पठाउने भनेर टुंगो लगाउने शेखर कोइरालाले उपसभापति धनराज गुरुङ र महामन्त्री थापासँग परामर्श गर्दैछन् ।
यता नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्ने पक्का भएको छ । उपप्रधानससिहत अर्थमा विष्णु पौडेल पनि मन्त्री बन्ने पक्का भएको छ । अरु मन्त्रीका बारेमा छलफल भइरहेको श्रोतको दावि छ ।