नेकपा सुदुरपश्चिमले गर्यो १४ बिघामा धान रोपाइँ

मंगलबार, १ साउन २०८१

काठमाडौ – नेपाल कम्युनिस्ट पार्टी सुदुरपश्चिम प्रदेश समितीले १४ बिघा जमिनमा धान रोपाइ सम्पन्न गरेको छ । नेकपाको देशव्यापी उत्पादन अभियान अन्तर्गत सुदुरपश्चिमका कैलाली र कञ्चनपुरमा धान रोपाइँ सकिएको केन्द्रीय प्रतिनिधि समिति सदस्य निरक सीले जानकारी दिए ।

आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेताकार्यकर्ता र कृषिद्वारा आत्मनिर्भरता र उद्योगद्वारा समृद्धि हासिल गर्ने उदेश्यसहित नेपाल कम्युनिस्ट पार्टीले देशभर धान खेती, तरकारी खेती, फलफूल खेती, पशु पालन, कुखुरा पालन तथा माछा पालनसमेत गरिरहेको छ। नेकपाले सुदुरपश्चिम अन्तर्गत कैलाली जिल्लाको घोडाघोडी वडा न. ९को रतिपुरमा ४ बिघा, लम्की चुहामा ३ बिघा,कैलाली जिल्ला पार्टीले ३ बिघा र कञ्चनपुरमा ४ बिघा गरि केन्द्रिय उत्पादन अन्तर्गत १४ बिघामा गरिएको धान खेती बाट ४ सय ५० क्विन्टल धान उत्पादन हुने अनुमान रहेको बताएको छ।

त्यस्तै, नेकपा सुदुरपश्चिमका विभिन्न जिल्ला समिति, युवा संगठन नेपाल र जनवर्गीय संगठनहरुले समेत सुन्तला, कागती र उत्पादनका विभिन्न काम गरिरहेका छन् । उत्पादन कार्यमा नेकपा स्थायी समिति सदस्य तथा प्रदेश इन्चार्ज भरत सी (रणबीर), केन्द्रिय सदस्यहरु भगतसिंह, समर, प्रकाश सी, गणेश सी र बिराट सी लगायतका नेताहरू प्रत्यक्ष काममा जुटिरहेका थिए भने रोपाइमा नेताकार्यकर्ता र स्थानीय जनसहभागितासमेत रहेको थियो।