बागमतीमा ६–६ मन्त्रालयले लिने कांग्रेस एमालेको सहमति, को–को बन्दैछन् मन्त्री ?

मंगलबार, ८ साउन २०८१

मकवानपुर – बागमती प्रदेशमा मन्त्रालय भागबन्डाको विषयमा नेपाली कांग्रेस र नेकपा एमालेबिच सहमति जुटेको छ । प्रदेशको १३ मन्त्रालय मध्ये कांग्रेसले मुख्यमन्त्री सहित ७ र एमालेले ६ मन्त्रालय लिने सहमति बनेको हो ।

सहमति अनुसार एमालेले विगतमा लिएको ५ मन्त्रालय पाउने स्पष्ट भएको छ भने थप एक मन्त्रालयमा अझै कुरा मिल्न सकेको छैन । कांग्रेसले विगतमा माओवादीसहित अन्य दल सम्हाल्दै आएको मन्त्रालय पाउने भएको छ । सहमति अनुसार एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय लिनेछ भने कांग्रेसले मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय विकास मन्त्रालय लिनेछ ।

युवा तथा खेलकुद मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कसले कुन लिने भन्ने विषयमा सहमति हुन बाँकी रहेको छ । तर एमालेले भने युवा तथा खेलकुद मन्त्रालय कांग्रेसलाई छाड्ने गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालय एमालेले लिने सहमति भएको बताउने गरेका छन् । दुई दलबिच मन्त्रालयको भागबन्डाको विषय नमिल्दा मुख्यमन्त्रीमा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामाको दाबीसमेत रोकिएको थियो ।

दुई दलबिच सहमति भएसँगै मन्त्री बन्न नेताहरुको दौडधुप सुरु भएको छ । २ पटक सरकार परिवर्तन हुँदा मन्त्री बनेका दलको नेता पुनः मन्त्री नबनी अरू सांसदलाई पालो दिनु पर्ने एमाले सांसदहरूको तर्क रहेको छ । सोही अनुसार सांसदहरू हेटौडा छोडेर पार्टी केन्द्रमा रिपोर्टिङका लागि काठमाडौं हानिएका छन् । मन्त्रीको लागि एमालेका दलको नेतादेखि प्रमुख सचेतक र सांसदहरूले लबिङ गरिरहेका छन् ।

एमालेबाट यस अघि मन्त्री निस्केका केशव प्रसाद पोखरेल, प्रकाश श्रेष्ठ, रामेश्वर श्रेष्ठसहित सांसदहरू डा. दिनेशचन्द्र देवकोटा, भरत केसी, अमन मास्के, किरण थापा, ज्ञान बहादुर तामाङ र भारती पाठकको नाम चर्चामा छ । उता कांग्रेसबाट पनि नयाँलाई अवसर दिने तयारी भइरहँदा केही सांसदहरू दबाबमा पेका छन् । कांग्रेसबाट संसदीय दलका उपनेता रामकृष्ण चित्रकार, मसिना खड्का र तीर्थबहादुर लामाले मन्त्री बन्ने अपेक्षा गरेका छन् । तर, यसअघि नै मन्त्री बनेका उनीहरूको सम्भावना अत्यन्त कम रहेको छ ।

यद्यपि नेता लामा भने आफूलाई सुरक्षित र शक्तिशाली बन्न उपनेता चित्रकार र लामालाई मन्त्री बनाउने पक्षमा रहेका छन् । कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम बहादुर खड्का मन्त्रीको सशक्त दाबेदार हुन् । नेता कृष्ण प्रसाद सिटौलाका विश्वास पात्र काफ्ले मन्त्री बन्ने पात्रको पहिलो नम्बरमा छन् भने पार्टी प्रवक्ता प्रकाश शरण महत निकट खड्का पनि सशक्त पात्र हुन् । दुवै जनाको मन्त्री पद सुरक्षित रहेको कांग्रेस भित्र चर्चा रहेको छ । सभापति शेर बहादुर देउवाको कोटाबाट सांसद विमल ठकुरी मन्त्री बन्ने चर्चा छ, भने कांग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री नपाएपछि मीनकृष्ण महर्जनलाई मन्त्री बनाउने कसरत थालेका छन् ।

त्यस्तै सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’को विश्वास पात्र समिता खड्की मन्त्रीको बन्ने चर्चा छ भने हरिप्रभा खड्की, सुना परियार, उर्मिला नेपाल र विनु रायमाझी मन्त्रीको लिस्ट छन् । हरिप्रभा नेता प्रकाशमानको कोटाबाट मन्त्रीको लिस्टमा परेकी हुन् । केन्द्रमा नेता सिंह उपप्रधान सहित सहरी विकास मन्त्री बनेका कारण हरिप्रभाको मन्त्री पद त्यति सुरक्षित देखिँदैन । प्रकाश शरण महतको कोटामा रहेकी उर्मिला नेपाल पनि मन्त्रीको चर्चामा छिन् । तर, महतको कोटामा सांसद खड्का बलियो पात्रको रूपमा रहेकाले नेपाललाई मन्त्री बन्न कठिन हुने देखिन्छ ।

केन्द्र सरकारमा दलित समुदायको प्रतिनिधित्व नभएको भन्दै आलोचना भएपछि कांग्रेसले प्रदेश मन्त्रिपरिषद्लाई समावेशी बनाउने गरी अघि बढ्ने देखिन्छ । त्यसो भएको खण्डमा मीन बहादुर परियारको टिममा रहेकी सुना परियार मन्त्री बन्ने निश्चित छ । आरजु देउवा राणाको कोटाबाट विनु रायमाझी मन्त्री बन्ने चर्चा छ । शेखर कोइराला(गगन थापाको टिमबाट सुरेश श्रेष्ठ र सुरज चन्द्र लामिछाने मन्त्री बन्ने चर्चा छ भने प्रभात तामाङ, रामकुमार पहाडी र गोविन्द लम्साल पनि मन्त्रीको आकाङ्क्षी देखिएका छन् ।