एमाले-कांग्रेसबिचको गोप्य सहमति बाहिरियो

बिहिबार, १० साउन २०८१

काठमाडौँ –  सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसबीच लुम्बिनी प्रदेशमा सरकार साझेदारीका लागि भएको गोप्य सहमति बाहिरिएको छ। सहमती अनुसार केन्द्रमा जस्तै प्रदेशमा पनि नेतृत्व आलोपालो गर्ने सहमति भएको हो ।

बुधबार उनीहरु बीच यो विषयमा लिखित सहमति नै भएको श्रोतले जनाएको छ । सहमति अनुसार पहिलो चरणमा एमाले र दोस्रो चरण कांग्रेसले सरकारको नेतृत्व गर्ने जनाइएको छ ।

गठबन्धनलाई प्रभावकारी बनाउन दुवै दलबाट ३–३ जना सहभागी विशेष समिति पनि बनाइएको छ । प्रदेश सरकार सञ्चालन तथा अनुगमनका लागि ६ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको हो । यो समितिमा एमालेबाट भोजप्रसाद श्रेष्ठ, भूमिश्वर ढकाल, तुलसीप्रसाद चौधरी छन् भने कांग्रेसबाट जन्मजय तिमिल्सेना, धनेन्द्र कार्की र बैजनाथ कलवार रहेका छन् ।​

एमालेका श्रेष्ठ प्रदेश उपाध्यक्ष तथा पूर्वमन्त्री हुन् भने ढकाल अहिले पनि मन्त्री छन्, चौधरी प्रमुख सचेतक हुन् । कांग्रेसबाट तिमिल्सेना प्रमुख सचेतक हुन भने कार्की अहिलेका मन्त्री हुन् ।समितिले मन्त्रिमण्डल गठन र जिम्मेवारी बाँडफाँट तथा विभिन्न कामको अगुगमन गर्नेछ ।