भोलीदेखि खुल्न लागेको गुराँस लघुवित्तको अबस्था कस्तो ?
काठमाडौं – गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले सोमबारदेखि सर्वसाधारणलाई साधारण सेयर (आइपीओ) बिक्रि खुला गर्दैछ । लघुवित्तले प्रति कित्ता १०० रुपैयाँका दरले २ लाख ५० हजार कित्ता आइपीओ बिक्रि गर्न लागेको हो।
बिक्रि गर्न लागेको आइपीओ मध्ये लघुवित्तले ३ हजार ८२५ कित्ता कर्मचारीको लागि सुरक्षित गरेको छ भने १२ हजार ५०० कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरेको छ। बाँकी रहेको २ लाख ३३ हजार ६३५ कित्ताको लागि सर्वसाधारणले आबेदन दिन सक्नेछन।
लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ५०० सय कित्तासम्मको लागि आवेदन दिन सक्ने छन्। लगानीकर्ताले छिटोमा बैशाख २० गते र पुरै आबेदन परेन भने ढिलोमा जेठ १४ सम्म आवेदन दिन सक्ने छन। कम्पनीको शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ भने प्रभु क्यापिटलले लघुवित्तको आइपीओ प्रत्याभूत गरेको छ।
कस्तो छ कम्पनी ?
गुराँस लघुवित्त १० जिल्ला कार्य क्षेत्र भएको ‘घ’ वर्गको वित्तिय संस्था हो । लघुवित्तले नेपाल राष्ट्र बैंकबाट २२ कात्तिक २०७३ मा ‘घ’ वर्गको वित्तीय संस्थाका रुपमा कारोबार गर्न स्वीकृति पाएर २०७३ मङ्सिर १३ बाट औपचारिक कारोबार सुरु गरेको हो ।
धनकुटा, तेह्रथुम लगायतका १० वटा जिल्लामा २३ वटा शाखा कार्यालयमार्फत लघुवित्त सेवा दिइरहेको छ । कम्पनीको केन्द्रीय कार्यालय धनकुटा ७, हुलाकटोल धनकुटामा रहेको छ।
लघुवित्तको अधिकृत पूँजी १० करोड, जारी पूँजी ७ करोड ७५ लाख र चुक्ता पूँजी ५ करोड २५ लाख छ। सर्वसाधारणहरुलाई आइपिओं बिक्रि तथा वितरण गरे पश्चात लघुवित्तको चुक्ता पूँजी ७ करोड ७५ लाख हुनेछ।
लघुवित्तले आर्थिक बर्ष २०७५–७६ को अन्त्यसम्म १ करोड २० लाख खुद नाफा हुने अनुमान गरेको छ। त्यस्तै २०७६–७७ मा १ करोड ९८ लाख, २०७७–७८ मा २ करोड ४८ लाख खुद नाफा हुने प्रक्षेपण गरेको छ।
लाघुबित्तले आगामी आर्थिक बर्ष २०७७–७८ सम्म पुँजी वृद्धि नहुने प्रक्षेपण गरेको छ। यसको अर्थ लघुवित्तले आगामी ३ आर्थिक बर्षसम्म बोनस सेयर दिने छैन तर उसले नगद लाभांश दिन सक्नेछ।
आइपीओ निष्काशनबाट प्राप्त रकम लघुवित्तले बिभिन्न शिर्षकको कर्जा दिन उपयोग गर्ने जनाएको छ। पशुपालन तथा कृषि कर्जामा, खुद्रा व्यापार र सेवा कर्जामा तथा साना तथा घरेलु उद्योग कर्जामा उपयोग गर्ने विवरणपत्रमा उल्लेख छ।
यो विश्लेषण कम्पनीले प्रकाशन गरेको विवरणपत्र, कम्पनीको वेवसाइट, अनौपचारिक जानकारी र अन्य प्रकाशित समाचारलाइ आधार मानेर पारिएको हो। यसले लगानी गर्न वा नगर्न कुनै सल्लाह दिंदैन। तर बुझेर लगानी गर्छु भन्नेलाई अरु थप आधार खोज्न मार्ग दर्शन मात्र दिन्छ।
लघुवित्तको प्रक्षेपणमा २०७७–७८ सम्म चुक्तापुंजी वृद्धि नगर्ने उल्लेख छ। तर मुनाफामा उल्लेख्य वृद्धि हुने लघुवित्तको अनुमान छ। लघुवित्तको चुक्तापुंजी वृद्धि र आम्दानीको अनुमानलाई आधार मान्दा लघुवित्तले अर्को बर्ष अर्थात २०७६७७ देखि लाभांश दिन सक्ने देखिन्छ। तर लघुवित्तले अर्को ३ बर्षसम्म नगद लाभांशमा नै जोड दिने स्पष्ट छ।
लघुवित्तबाट तत्काललाई बोनस सेयरको अपेक्षा छैन भने मात्र लघुवित्तको आइपीओंमा आबेदन उचित देखिन्छ। यद्दपी लघुवित्तले वितरण गर्ने लाभांश बाहेक शेयर बजारमा हुनसक्ने मूल्य उतार चढावबाट पनि लाभ लिन सकिने हुँदा लगानी अर्थपूर्ण हुन सक्छ। आबेदन धेरै पर्ने भएकाले गोलाप्रथाबाट नै आइपीओ वितरण बाँडफाँड हुने हुँदा १० कित्ता मात्रै आबेदन दिंदा बुद्धिमानी ठहरिन्छ।