राष्ट्रपति पौडेलले गरे एकैचोटी ३ प्रदेश प्रमुखलाई बर्खास्त

बुधबार, १६ साउन २०८१

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटा प्रदेश प्रमुखलाई बर्खास्त गरेका छन्। राष्ट्रपति पौडेलले बुधबार एकैचोटी तिन प्रदेशका प्रमुखलाई बर्खास्त गरेका हुन्।

बाग्मतीका प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेसंगै रिक्त पदमा सरकारको सिफारिशअनुसार राष्ट्रपति पौडेलले बाग्मती प्रदेशमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा यज्ञराज जोशीलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी वरिष्ठ रथी अशोकराज सिग्देललाई दिएका छन् । सरकारको सिफारिशमा राष्ट्रपतिले आज सिग्देललाई कायममुकायम प्रधानसेनापति तोकेका हुन्  ।

अहिलेका प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे कार्यकाल आउँदो भदौको २४ गते सकिने भए पनि एक महिनाअघि नै बिदा बस्ने सैनिक परम्परा भएकाले सरकारले सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएको हो ।