के शरिरको तौल घटाउने नाममा यो दवाई खाँदै हुनुहुन्छ ? सावधान !
काठमाडौँ – तौल घटाउने भन्दै बिक्री वितरण भइरहेको गार्सिनिया कम्बोजिया बेचेको पाइएमा जानकारी दिन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुरोध गरेको छ।
विभागले सूचना प्रकाशित गरी गार्सिनिया कम्बोजिया नाम गरेको आहारपुरक खाद्यपदार्थको झुठो अनुज्ञापत्र नम्बर राखेर प्रयोग गरिएको उल्लेख गरेको छ। यसका विषयमा सञ्चार माध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको विभागले जनाएको छ।
गार्सिनिया कम्बोजियालाई नानो फुड नेपाल प्रालिले उत्पादन गरेको छ भने जीटीएम हर्बल प्रालिले बिक्री वितरण गरिएको छ। यसको उत्पादन र बिक्री वितरणका लागि अनुमति नलिएको विभागले जनाएको छ।
यस प्रकारको नक्कली उत्पादनले स्वास्थ्यमा गम्भीर समस्या आउन सक्ने जनाउँदै विभागले बेचिएको पाइएमा जानकारी दिन भनेको हो। विभागले भनेको छ, ‘यस प्रकारको नक्कली उत्पादनको उपभोगबाट मानव स्वास्थ्यमा गम्भीर समस्या पर्न सक्ने हुँदा सम्पूर्ण उपभोक्तामा सजग रहन तथा कहिँकतै बिक्री वितरण भएको देखिएमा विभाग वा विभाग मातहतका कार्यालय वा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिनु हुन अनुरोध छ।’
गार्सिनिया कम्बोजियाबारे हिमालखबरले विस्तृत रिपोर्ट प्रकाशित गरेको थियो। गार्सिनिया कम्बोजियासँग अन्य तौल घटाउने औषधि तथा आहारपुरक खाद्यपदार्थबारे विभागले अनुसन्धान पनि थालेको छ।