हत्या आरोपीलाई कांग्रेसले दियो वन मन्त्रीको उपहार
काठमाडौं – निर्मला कुर्मीको अपहरण र हत्याको आरोप लागेका बादशाह कुर्मीलाई नेपाली कांग्रेसले मन्त्री बनाएको छ। लुम्बिनी प्रदेशका ८ जना बिनाविभागीय मन्त्रीहरूले जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले साउन ९ गते नियुक्त गरेका ८ बिनाविभागीय मन्त्रीले जिम्मेवारी पाउँदा अपहरण र हत्याको आरोपी कुर्मीलाई कांग्रेसले वनमन्त्री बनाएको हो।
जसअनुसार शहरी विकास तथा खानेपानी मन्त्रीमा प्युठानका सरोज थापा, वन तथा वातावरणमा बाँकेका बादशाह कुर्मीले जिम्मेवारी पाएका छन् । त्यस्तै, उद्योग, पर्यटन तथा यातायात मन्त्रीमा दाङका प्रचण्डविक्रम न्यौपाने र आर्थिक मामिला तथा योजना मन्त्रीमा गुल्मीका धनेन्द्र कार्कीलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा रूपन्देहीका भूमिश्वर ढकाल, कृषि तथा भूमि व्यवस्था मन्त्रीमा गुल्मीका दिनेश पन्थी, स्वास्थ्य मन्त्रीमा पाल्पाका खेम सारु र ऊर्जा जलश्रोत र सिँचाइ मन्त्रीमा दाङकी सीता शर्मा चौधरीले जिम्मेवारी पाएका छन् ।
मुख्यमन्त्री आचार्यले सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र महिला तथा बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेका छन् । लुम्बिनीमा नेकपा एमाले र काँग्रेस मिलेर सरकार बनाएका हुन् । एमालले मुख्यमन्त्रीसहित पाँच र कांग्रेसबाट ४ जना गरी ९ जनाको मन्त्रिपरिषद् भएको छ ।