विद्युत महसुल विवाद : सरकारले बक्यौता नउठाए प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति बेचेर उठाउनुपर्छ – सांसद चौधरी

सोमबार, २१ साउन २०८१

काठमाडौं – नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले तीन महिनाभित्र सरकारले बक्यौता नउठाए प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति बेचेर उठाउनुपर्छ बताएका छन् । बक्यौता नतिरी जोडिएको उद्योगहरुले तीन महिनाभित्र महसुल नबुझाए निर्देशन दिनेहरुको सम्पत्ति बेचेर उठाउनुपर्ने तर्क गरेका हुन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीको अवैधानिक ठाडो आदेशमा विद्युत जोडिएकोप्रति असन्तुष्टि जनाए। उनले भने, ‘प्रधानमन्त्रीको आदेशमा अवैधानिक तरिकाले विद्युत जोडिएको उद्योगबाट तीन महिनाभित्र बक्यौता महसुल उठेन भने यसको जिम्मेवारी को हुन्छ ? आदेश दिने प्रधानमन्त्री, आदेश पालना गरेर सिफारिस गर्ने मन्त्री र कार्यान्वयन गर्ने समितिले जिम्मा लिनुपर्छ। यो रकम उठने प्रधानमन्त्री मन्त्री र निर्णय गर्ने बोर्ड सदस्यहरुको जाहेजेथाबाट असुल उपर गर्नुपर्छ। यदि यसो गर्न नसके मुलुक अराजकतातिर जान्छ।’

उनले उद्योगको बक्यौता सरकारले नउठाए आजैदेखि सबै उपभोक्ताहरुलाई बक्यौता नतिर्ने आग्रह गरे। उनले काटिएको लाइनहरु पनि बक्यौता नतिरी जोड्न माग गरे।