कांग्रेसका यी दुई प्रभावशाली नेताको सार्वजनिक अभिव्यक्तिले गठबन्धन अप्ठेरोमा
काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा छलफलका ११ एजेन्डा छन्। तर नेकपा (एमाले) सँगको सत्ता गठबन्धन केन्द्रित रहेर केन्द्रीय सदस्यहरूले धारणा राखेका छन्। बुधबारदेखि सुरू केन्द्रीय समिति बिहीबार पनि चल्यो। बैठकमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले नक्कली भुटानी शरणार्थी र गिरीबन्धु टी-इस्टेट प्रकरणको प्रसंग उठाए।
यी प्रकरणमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सदन र बाहिरका कार्यक्रममा पनि बोलेकोले त्यसले एमालेसँगको गठबन्धनलाई अप्ठेरोमा पार्ने दाबी उनको रह्यो।
‘यी प्रकरणहरूलाई निष्कर्षमा नपुर्याउने हो भने कांग्रेस-एमाले गठबन्धनको औचित्य छैन भनेर एक महामन्त्रीले संसदमै बोल्नुभयो,’ महामन्त्री विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै बस्नेतले भने। उनी यतिमा रोकिएनन्। अर्का महामन्त्री गगन थापालाई लक्षित गर्दै थप कुरा राखे।
महामन्त्री थापाले हालै कोरियामा दिएको एक अभिव्यक्ति लक्षित गर्दै बस्नेतले भनेका कुरा उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘यसबाट के देखिन्छ भने महामन्त्रीहरूले सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नबनुन् भन्ने सोच राखेर यस्तो बोल्दैछन्, यस्तो हर्कतलाई रोक्नुपर्छ।’
बस्नेत सभापति देउवानिकट छन्। केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो गुटलाई फाइदा पुग्ने गरी बोल्ने गर्छन्। कांग्रेसमा यो प्रवृत्ति नै बनेको छ। गत असार १७ गते कांग्रेस र एमालेबीच भएको सहमतिमा पहिलो दुई वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली र पछिल्लो डेढ वर्ष कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने उल्लेख छ।