बर्खास्त गर्ने सरकारी तयारीकाबिच कुलमानले आँफै तोके प्राधिकरण छोड्ने मिति
काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बर्खास्त गर्ने सरकारी तयारीकाबिच प्राधिकरणबाट बाहिरिने मिति आँफै तोकेका छन्।
कुलमानले लोडसेडिङमा रमाउने जमातले आफ्नो विरोध गरेको गुनासो गर्दै आफ्नो दोश्रो कार्यकालको अन्तिम वार्षिकोत्सवपछि अर्को वर्ष साउन २५ गते चारवर्षे कार्यअवधि सकेर आँफै प्राधिकरणबाट बिदा लिने घोषणागरेका हुन् ।
प्राधिकरणको वार्षिकोत्सवको सन्दर्भमा आज काठमाडौंमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उनले संस्थान घाटामा जाँदा र लोडसेडिङ हुँदा खुसी हुनेहरु आफूविरुद्ध लागिरहेको बताए । प्राधिकरणबारे गलत सूचना फैलाउन पनि त्यो जमात सक्रिय रहेको घिसिङको भनाई छ ।
विद्युत प्राधिकरण नाफामा जानु कसैलाई दुःख लाग्छ । विद्युत प्राधिकरण घाटामा जाँदा खुशी लाग्छ । लोडसेडिङ बढाउँदा खुशी लाग्ने जमात ठूलो छ । त्यो जमातले यस्ता नचाहिने विषयहरुलाई पनि धेरै फैलाएको सुनेको छुु, उनले भने ।
प्राधिकरणकै केही जिम्मेवार पदाधिकारीले जिम्मेवार ठाँउमा प्राधिकरणको हिसाबप्रति आशंका व्यक्त गर्ने गरेको भन्दै कार्यकारी निर्देशक घिसिङले महालेखा परीक्षकको ३ वटा संस्थाले अडिट गरेको हिसाब कसरी फेक हुन्छ ? भन्दै प्रश्न गरे ।