आज “उपत्यका व्यापी छैटौं अन्तर विद्यालय मौलिक तीज नृत्य प्रतियोगिता” हुँदै
काठमाडौं – नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर नेरिक एकेडेमीले “उपत्यका व्यापी छैटौं अन्तर विद्यालय मौलिक तीज नृत्य प्रतियोगिता – २०८१” हुने भएको छ । नेरिक एकेडेमीको प्राङ्गणमा आज भब्य रुपमा प्रतियोगिता हुने भएको हो ।
उक्त प्रतियोगितामा काठमाडौं, भक्तपुर र ललितपुरका ४० भन्दा बढी विद्यालयका विद्यार्थीहरुको सहभागिता रहने छ । प्रतियोगितामा १२ बर्ष देखि १६ बर्ष भित्रका उमेर समुहका विद्यार्थी र कक्षा १० सम्मका विद्यार्थीहरुले भाग लिन पाउने नेरिक एकेडेमीका प्रिन्सिपल मिलन कंडेलले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेलाई २० हजार रुपैयाँ र ट्रफी, द्धितिय हुनेलाई १५ हजार रुपैया र ट्रफी, तृतिय हुनेलाई १० हजार रुपैया र ट्रफी, चौथो र पाँचौलाई ५, ५ हजार रुपैया र ट्रफी पुरस्कार निर्धारण गरिएको छ भने उत्कृष्ट १० लाई ट्रफी प्रदान गरिने र बेष्ट कोरियोग्राफरलाई ५ हजार रुपैया र ट्रफी प्रदान गरिने नेरिक एकेडेमीले जनाएको छ ।
विद्यार्थीलाई नकारात्मक कुराहरुलाई छोडेर सकारात्मक भावना तिर प्रेरित गर्दै देश, समाज र संस्कृती प्रति सकारात्मक भावना पैदा गर्नुका साथै मौलिक संस्कृतीको जगेर्ना होस् भनी मौलिक तीज नृत्य प्रतियोगिताको आयोजना गरिएको प्रिन्सिपल कंडेलले बताएका छन् । प्रतियोगितामा बरिष्ठ कलाकार मिथिला शर्माको प्रमुख आतिथ्यता रहने छ भने निर्णायकहरुमा खड्क बुढा, सुनिल थापा, रिना थापा मगर रहने आयोजक पक्षले जनाएको छ ।