जुनसुकै बेला विष्फोटको जोखिममा यी ४७ हिमताल, नेपाललाई बढी खतरा
काठमाडौँ – सोलुखुम्बुको चर्चित पर्यटकीय केन्द्र मानिने खुम्बु क्षेत्र जाने बाटैमा पर्ने थामे बजारलाई शुक्रबार दिउँसो हिमताल विष्फोट भएर उर्लेको भेलबाढीले तहसनहस पारेपछि हिमालीक्षेत्रको जोखिमबारे चर्चा हुन थालेको छ।
हिमालमा रहेका पाँचमध्ये दुईटा हिमताल विष्फोट भएपछिको भेलमा मिसिएका भीमकाय ढुंगा, गेग्रान र लेदोले सुन्दर थामेलाई एकैछिनमा उराठलाग्दो बगर बनाइदिएको छ। हिमताल विष्फोट भएर निम्तिएको यस्तो विकराल विपद थामेमा मात्रै थामिएर रहने अवस्था भने छैन।
नेपालको पूर्व–पश्चिम वारपार फैलिएको हिमाली क्षेत्र र चिनियाँ भूभागतिर रहेका धेरै हिमतालहरू जुनसुकै बेला विष्फोट हुने जोखिमपूर्ण अवस्थामा छन्।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले चार वर्षअघि नेपाल सरकारसँगको सहकार्यमा गरेको अध्ययनले नेपाल, चीन र भारत गरी ४७ वटा हिमताल उच्च जोखिमयुक्त रहेको र तीनले नेपालमा असर पुर्याउने देखाएको थियो।
नेपालका २१ वटा हिमताल जुनसुकै बेला विष्फोट हुनसक्ने उच्च जोखिममा रहेको औंल्याएको थियो। उच्च जोखिममा रहेका २१ मध्ये कोशी नदीको जलाधार क्षेत्रमा १८ वटा, गण्डकी नदीको जलाधार क्षेत्रमा २ वटा र कर्णाली नदीको जलाधार क्षेत्रमा एउटा हिमताल विष्फोटको जोखिममा रहेको अध्ययन प्रतिवेदनको निष्कर्ष थियो।
इसिमोडमा कार्यरत वरिष्ठ जलवायु परिवर्तन विशेषज्ञ डा।अरूणभक्त श्रेष्ठका अनुसार सन् २०२० मा सार्वजनिक भएको उक्त अध्ययन प्रतिवेदनले चीनतर्फका २५ वटा हिमताल पनि एकदमै जोखिममा रहेको र ती विष्फोट भए नेपाललाई झनै ठूलो असर गर्नसक्ने सम्भावना औंल्याएको थियो।
‘त्यसबेला हामीले नेपाल, चीन र भारतका हिमतालहरूको अध्ययन गरेका थियौं, चीन र भारतका पनि त्यस्ता हिमताल जसले नेपालतिर असर गर्नसक्थे’, उनले भने ‘त्यसबेलाको अध्ययनको निष्कर्ष अनुसार नेपाल प्रभावित हुनसक्ने क्षेत्रमा ४७ वटा हिमताल जोखिममा रहेको पाएका थियौं। जसमध्ये २१ वटा नेपालका, चीनका २५ र भारतको एउटा ताल उच्च जोखिमयुक्त पाएका थियौं।’
चीनका २५ वटा जोखिमपूर्ण हिमतालमध्ये २४ वटा तालले नेपालको कोशी जलाधार क्षेत्रमा जोखिम बढाउने ठहर गरेको प्रतिवेदनमा एउटा हिमतालले गण्डकी जलाधार क्षेत्रमा प्रभाव पार्ने उल्लेख थियो। भारतीय भूमिमा रहेको एउटा हिमताल पनि उच्च जोखिममा रहेको र त्यसले कर्णाली जलाधार क्षेत्रलाई जोखिममा पार्ने सम्भावना रहेको देखिएको थियो। हिमतालहरूको विष्फोटको जोखिम आकलन गर्न विभिन्न मापदण्डलाई आधार बनाइएको श्रेष्ठले बताए।