छोरी खोज्न अमेरिकी दूतावास पुगिन् ममता काफ्लेकी आमा, दूतावासले दिए यस्तो जवाफ
काठमाडौं – अमेरिकाको भर्जिनियास्थित मनासस पार्कबाट तीन सातादेखि हराइरहेकी २९ बर्सिया नेपाली नर्स ममता काफ्लेकी आमाले नेपालस्थित अमेरिकी दुतावासमा पुगेर वितण्डा मच्चाएकी छन् । शुक्रबार काठमाडौंस्थित दूतावासले बोलाएपछि हस्याङफस्याङ गर्दै पुगेकी ममताकी आमा सीताकुमारी काफ्लेले छोरी चाहियो भन्दै वितण्डा मच्चाएकी हुन् ।
उनलाई छोरीको हत्या भएको आशंकामा पति नरेश भट्टलाई पक्राउ गरेर मुद्दा चलाइको विषयमा दूतावासले औपचारिक जानकारी दिएको थियो । परिवारलाई जानकारी गराउँदै दूतावासले नरेश भट्टलाई पक्राउ गरेपछि उनको साथमा रहेकी एक बर्सिया छोरीलाई हेरचाह गृह लगिएको बताएको छ । ममता गत साउन १६ (जुलाई ३१) देखि हराएकी हुन् ।
उनी अगस्ट २ मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा हाजिर नभएपछि सहकर्मीले अवस्था बुझिदिनेका लागि स्थानीय प्रहरीलाई खबर गरेका थिए । सुरुमा प्रहरीमा उजुरी दिन नचाहेका भट्ट अगस्ट ६ साउन २२ मा मात्रै प्रहरी कार्यालय पुगेका थिए । उजुरीपछि प्रहरीले अनुसन्धान थालेको प्रहरीले हत्या भएको आशंकामा पति नरेशलाई नै नियन्त्रणमा लिएको हो ।
उनले दूतावासमा सास भए सास र लास भए लास पाउँ, ज्युँदो नपाए पनि छोरीको अन्तिम संस्कार गर्न पाऊँ भनेर होहल्ला गरेको दुतावासले जनाएको छ । जवाफमा दुतावासले आफूहरु ममताको खोजिमा लागिरहेको बताएको थियो ।