यी २ जिल्ला बाहेक देशका सबै जिल्लाहरुमा फैलियो डेङ्गी

शनिबार, ८ भाद्र २०८१

काठमाण्डौ – डेङ्गी र हैजा रोगको सङ्क्रमण बढेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाकाअनुसार डेङ्गी रोगको सङ्क्रमण ७५ वटा जिल्लामा पुगेको छ ।

महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा.  गोकर्णप्रसाद दाहालले हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी रोगको सङ्क्रमण देखिएको बताए । ७५ वटा जिल्लामा पाँच हजार एक सय १९ जनामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । यस वर्ष अहिलेसम्म तीन जनाको ज्यान गइसकेको छ ।

पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टसु प्रजातिको लामखुट्टेले फुल पार्ने लार्भा बयस्क भएपछि टोकेपछि डेङ्गी रोग लाग्दछ । काठमाण्डौ जिल्लामा चार सय २१ जना, भक्तपुर ५८ र ललितपुरमा ७९ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गी रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रवार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै  लामखुट्टे खोज र नष्ट अभियान सचालन गर्न आग्रह गरेको छ । सरकारी अस्पतालमा डेङ्गी रोगका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।