ओलीले भारतको इसारा बुझेपछि देउवामाथि मडारियो संकट, आरजु भने खुशी

शनिबार, ८ भाद्र २०८१

काठमाडौं – भारतले परराष्ट्रमन्त्री आरजु राणा देउवाको भ्रमणलाई निकै महत्वका दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई छटपटी हुन थालेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आरजुलाई भेटेर निकै ठूलो आश्वासन दिएको हुनसक्ने आशंका गर्दा ओलीलाई छटपटी हुन थालेको हो ।

उनले भारतको इसारा बुझ्दै आरजुको नाम नलिएर आफूले नेपालमा महिला प्रधानमन्त्री बनाउन चाहेको बताए । शनिबार काठमाडौंमा भएको युथ कन्क्लेभमा सहभागीको प्रश्नको जवाफ दिँदै उनले महिला प्रधानमन्त्री बनाउन तयारी गर्नुपर्ने बताए । ‘म महिला प्रधानमन्त्री बनाउन चाहन्छु तर त्यसका लागि अलिकति तयारी गर्नुपर्छ । दुई महिना, तीन महिना, अर्को साल महिला प्रधानमन्त्री बनाइहाल्छु भन्न मुश्किल हुन सक्छ, छिट्टै बनाउने तयारीका बारेमा सोचिरहेको छु’, उनले भने ।

आफू महिलाको हितका लागि जहिल्यै क्रियाशील रहेको भन्दै उनले पहिलो राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख पनि आफ्नै पालामा भएको बताए । ‘म कमसे कम यस्तो शौभाग्यशाली मान्छे हुँ, जसले पहिलो राष्ट्रपति महिला बनायो, पहिलो प्रधानन्यायाधीश महिला बनायो, पहिलो सभामुख महिला बनायो’, उनले भने ।

नेपालमा पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी, पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की र पहिलो महिला सभामुख ओनसरी घर्ती हुन् । ओलीले पहिलो रक्षामन्त्री पनि आफ्नो दलबाटै बनेको भन्दै अहिले पहिलो महिला मुख्यसचिव पनि आफूले नै बनाएको बताए । ‘अहिले भर्खरै म आउनेबित्तिकै मौका पाएँ एउटा महिलालाई मुख्य सचिव बनाइहालेँ’, प्रधानमन्त्री ओलीले भने ।

अहिले विदेश भ्रमणमा जाने सरकारी प्रतिनिधिमण्डलमा महिला अनिवार्य गरेको पनि उनले बताए । आफूले महिलाको लागि थुप्रै काम गरेको भन्दै उनले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने व्यवस्थामा पनि आफ्नो प्रमुख भूमिका रहेको दाबी गरे । नेपालमा ओली पछि आरजुलाई भारतले प्रधानमन्त्री बनाउन चाहेको हल्ला चलिरहेका बेलामा प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति आउनु संयोग मात्र भन्न सकिन्न ।

जानकारहरुका अनुसार भारत र अमेरिकाले नेपालमा पहिलो महिला प्रधानमन्त्री लोकतान्त्रीक पार्टीबाट भएको हेर्न चाहेकाले पनि आरजुको प्रधानमन्त्री बन्ने सम्भावना धेरै छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आरजुलाई संसदीय दलको नेता बनाउन तयार भएको अवस्थामा यो सम्भव हुनेछ । संसदीय दलको नेता नभएपनि संविधानको धारा ७६ को ५ अनुसार आरजु प्रधानमन्त्री बन्ने सम्भावना जिवितै रहन्छ । यदि आरजु प्रधानमन्त्री बनेको खण्डमा कांग्रेस सभापति शेरबहादुर देउवाको ७ पटक प्रधानमन्त्री बन्ने सपना भने चकनाचुर बन्ने छ ।