गभर्नर अधिकारीले मनलाग्दी गरेपछि नेपाली सेनाले देखाइदियो पावर

शनिबार, ८ भाद्र २०८१

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निकै घमण्डी स्वभावका छन् । उनी नेपाल राष्ट्र बैंक, नेपाल सरकार, बैंक तथा वित्तीय संस्था तथा आम जनताको मर्म विपरित आफ्नो व्यक्तिगत सर्तलाई केन्द्रमा राखेर काम गर्न खोज्दा धमण्डी देखिन्छ । उनको घमण्डले गर्दा राष्ट्र बैंकभित्र रहेको नेपाली सेनासमेत उनीसँग रुष्ट भएको जनआस्था साप्ताहिकले लेखेको छ ।

अधिकारी नेतृत्वमा रहेको कार्यालयले बैंकका विभिन्न विभागलाई दिएको निर्देशनसहितको पत्र बेवारिस भएको छ । निर्देशानुसार बुधबारदेखि कार्यान्वयनमा आउनुपर्ने कतिपय काम नभएपछि कर्मचारीहरुले पत्र लत्याएको अर्थ लागेको छ ।

२०७२ सालको भूकम्पमा बैंकका बालुवाटार र थापाथलीस्थित भवन ध्वस्त भएकाले दुबै ठाउँमा नयाँ भवन ठड्याइएको छ । झण्डै एक वर्ष अगावै सम्पूर्ण कार्य सम्पन्न भएकाले यो वर्षको भदौ ५ गतेदेखि बैंकिङ कार्यालय, मुद्रा व्यवस्थापन र मौद्रिक व्यवस्थापन विभागका नियमित कार्य थापाथली भवनबाट सञ्चालन गर्न निर्देशन दिइएको बताइन्छ ।

तर, आजसम्म सेवा सञ्चालनका कुनै पनि प्रक्रिया शुरु नभएपछि उक्त पत्रको औचित्य नै समाप्त भएको छ । बैंकिग कार्यालय स्रोत भन्छ, ‘पत्र आएको पनि हो । काम अघि बढाउन खोजिएको पनि हो । तर, बैंक सुरक्षामा खटाइएको नेपाली सेनाका कारण हामी थापाथली जान नसक्ने अवस्था उत्पन्न भयो ।’ स्रोतका अनुसार सेनाले थापाथली भवनको सुरक्षाको निम्ति सुरक्षा टोली बस्ने भवन, २४ घण्टा पहरा दिनुपर्ने ठाउँमा उपयुक्त पोष्टको अभाव जनाउँदै तत्काल थापाथलीबाट तीन वटा विभागको कार्य सुचारु हुन नसक्ने राय दिएको थियो ।

तर गभर्नरले जवरजस्ती गरेपछि उनको पत्र अलपत्र परेको छ । पत्र अलपत्र परेपछि बैंकका मुद्रा, बैंकिंग र मौद्रिक विभाग आगामी केही महिना बालुवाटारमै रहने अवस्था उत्पन्न भएको हो ।